काठमाडौँ : नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमतिसँगै कर्णालीका एमाले मन्त्रीमाथि नैतिक संकट सुरु भएको छ । १० बुँदे सहमतिसँगै एमाले एकता ठोस निर्णयमा परिणत हुन लागेका बेला कर्णालीका एमाले मन्त्रीमाथि नैतिक संकट सुरु भएको हो ।
फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा मन्त्री बनेका एमाले माधव नेपाल पक्षका तीन जना मन्त्रीलाई अब राजीनामा गर्नुपर्ने बाध्यता आउने भएको छ । पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने माधव नेपाल पक्षको अडान र माग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि अब पार्टीको आन्तरिक विवाद अन्त्य भएर एकता हुने पक्का भएको हो ।
पार्टी एकता भएपछि संसदीय दलको निर्णयलाई शिरोधार्य गरेर मन्त्रीले राजीनामा दिनुपने हुन सक्छ । यसका लागि कर्णाली संसदीय दलले अहिले प्रदेशसभामा चर्काइरहेको माग एमालेका तीन मन्त्रीले मान्नुपर्ने बाध्यकारी व्यवस्था लागू हुन सक्छ ।
यसले एमालेका मन्त्री नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीमाथि गम्भीर नैतिक प्रश्न उठ्ने भएको छ । एमाले कार्यदलले जुटाएको सहमतिलाइृ सोमबार र मंगलबार बस्ने एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेलगत्तै कर्णालीको सत्ता उल्टिने प्रक्रिया सुरु हुनेछ ।
माधव नेपालले निर्देशन दिएको खण्डमा कर्णालीका एमाले मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले यसका लागि माधव नेपालकै निर्णय कुरिरहेका छन् । एमाले मन्त्रीले राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा पर्नेछ । विपक्षीले फेरि चर्को माग उठाउनेछन् । नैतिकताकै आधारमा मुख्यमन्त्री महेन्द्र शाहीले समेत राजीनामा दिनुपर्ने अवस्था आउनेछ ।
तर यसका लागि अझै पनि कर्णालीमा माधव नेपालको निर्णय निर्णायक छ । कर्णाली प्रदेशका एक जना एमाले मन्त्रीले माधव नेपालले नभनेसम्म आफुहरुले राजीनामा नदिने बताए । पार्टी अझै पनि मिलि नसकेको भन्दै उनले पार्टीको आन्तरिक विवाद समाधान र एकताले पूर्णता पाएपछि मात्रै आफूले राजीनामा दिने उनले बताए ।
अहिले कार्यदलमा सहमति मात्रै भएको छ । पार्टी एकता, आन्तरिक विवाद समाधानको खाका र पावर शेयरिङमा कुरा मिल्नै बाँकी छ, नाम खुलाउन नमानेका ती मन्त्रीले कर्णाली खबरसँग भने, माधव नेपाल र ओलीबीच सहमति भयो । आन्तरिक विवाद मिल्यो । अब जेठ २ कै सहमतिअनुसार पार्टी अगाढि बढ्यो भन्ने लिखित निर्णय आएपछि मात्रै हामी राजीनामा दिन्छौँ । अहिले नैतिक संकट भन्दैमा राजीनामा दिदैनौँ ।