काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले शनिबार नै भनेका थिए । आइतबार बिहान ८ बजे नै सुखद समाचार सुन्न पाइन्छ । आइतबार बिहान ८ बज्यो । कोपा अमेरिका मेस्सीको टिम अर्जेन्टिनाले जितेको खबर सुनियो ।
नेम्वाङ मेस्सीका ठूला फ्यान हुन् । उनले यसैलाई सुखद समाचार भनेका रहेछन् । तर एमाले कार्यदलबाट दिनुपर्ने सुखद समाचार बाँकी नै थियो । त्यसका लागि सहमति गर्नुपर्ने थियो । दुई पार्टी नेताहरुलाई मिलाउनु थियो ।
घडीमा १० बजेपछि बैठक सुरुभयो सिंहदरबारमा । दिनभर चल्यो । राती पनि चल्यो । राती झण्डै ८ बजेपछि मात्रै सहमतिको बुँदामा हस्ताक्षर गर्ने काम भयो । त्यसलाई पत्रकारसम्म ल्याउन त मध्यरात नै पुग्यो ।
लामो प्रयासपश्चात अन्ततः नेकपा एमालेमा पार्टी एकताका लागि १० बुँदे सहमति भएको छ । यो सहमति ओली र माधव नेपालको समर्थनमा गरिएको छ । यसलाई अनुमोदन गर्नै बाँकी छ । १० बुँदे सहमतिले नेकपा एमालेभित्रको अहिलेको विवाद अन्त्य गर्ने विश्वास छ ।
नेता कार्यकर्ता यसप्रति खुशी छन् । ढिलै भएपनि पार्टीभित्रको आन्तरिक किचलो अन्त्य भएको विश्वास गरिएको छ । सहमति गरिएका बुँदामा माओवादी छाडेर आएको बादल समूहलाई स्वागत गर्ने उल्लेख छ ।
यस्तै जेठ २ गते फर्किने सहमतिअनुसार मावध नेपाल पक्षको माग सम्बोधन भएको छ । यस्तै अब नेकपा एकता हुनुअघिकै बटमलाइनबाट पार्टी अघि बढाउने आन्तरिक सहमति छ । यसबाहेक सर्वोच्चको फैसला यसअघिको स्वीकार गर्ने र सोमबार हुने फैसलालाई स्वीकार गरेर अघि बढ्ने उल्लेख छ ।
कसरी जुट्यो सहमति ?
ओली निर्मम र माधव नेपाल कठोर बनेपछि एमालेमा सहमतिको सम्भावना टर्दै गएको थियो । ओलीले एकलौटी रुपमा सांसदकै जागिर खाने गरी प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपाल पक्ष एमाले एकताबाट भागेको थियो ।
उसो त यसअघि माधव नेपाल र प्रचण्डको दोस्ती थियो । ओली निरंकुश बनेको ठहरसहित यसका लागि संघर्ष समेत भयो । आन्दोलन चल्यो । ओलीविरुद्ध देशभर नाराबाजी भयो । तर पनि ओलीले आफ्नो मुर्खतापूर्ण राजनीति छाडेनन् ।
माधव नेपाल पक्षले सडकबाट संघर्ष गरिरह्यो । तर मूल पार्टी एमाले भएकाले दोस्रो तहका नेताहरु एकताका लागिग अघि सरे । ओली र माधव नेपालले पनि त्यसलाई अनुमोदन गरे । यसका लागि क्याप्टेन रामेश्वर थापाको घरमा ओली र माधव नेपालबीच सहमति भएको थियो ।
त्यही सहमति फेरि दुई हप्ताअघि ब्युताएर अहिले ठोस सहमतिमा दुई पक्ष पुगेका हुन् । यसको श्रेय ओलीबाट सुवास नेम्वाङ र माधव नेपालबाट भीम रावललाई जान्छ । उनीहरु दुुवै जना ओली र माधव नेपालको अडानबाट केही पर पुगेर एमालेका लागि सहमति गर्न पुगेका थिए ।
