काठमाडौँ : भनिन्छ, राजनीति इमान र नैतिकताको खेल पनि हो । नैतिकताविनाको राजनीति केवल सत्ता र स्वार्थको भुमरी मात्रै हो । जसले जित दिदैन । हार बाहेक केही हात लाग्दैन । कर्णाली प्रदेश सरकारमा सत्ता र प्रतिपक्षको जुहारी चलेका बेला एक नैतिक प्रश्न यसरी पनि उठेको छ ।
नेताहरु बस्ने कुर्सी फेरिएपनि नैतिकताको प्रश्न फेरिएको छैन । झन् पेचिलो बनेको छ । प्रसंग हो, यामलाल कँडेल र जीवन शाहीको । यामलाल अहिले प्रमुख प्रतिपक्षी एमालेका संसदीय दलका नेता छन् । जसले कर्णाली प्रदेशलाई थर्कमान बनाइरहेका छन् ।
जीवन शाही सत्ता सहयात्री दलका नेता हुन्् । जो नेपाली कांगे्रस कर्णाली प्रदेशका संसदीय दलका नेता हुन् । विगतमा जीवन शाही प्रमुख प्रतिपक्षी दलका नेता थिए । र, सत्ता सहयात्री दलका नेता थिए यामलाल कँडेल ।
दुवै जना संघीय सरकारका पूर्व पर्यटनमन्त्री हुन् । सत्तामा रहँदा पनि यामलाल कँडेल प्रतिपक्ष थिए । उनी मुख्यमन्त्री महेन्द्र शाहीका चर्का आलोचक थिए । एमाले र माओवादी मिलेर बनेको नेकपा नेतृत्वको सरकारमा मुख्यमन्त्री नपाएको झोकमा यामलाल कर्णाली प्रदेश सरकारको सत्तो सराप गर्थे ।
उनको आलोचना नरोकिएपछि मुख्यमन्त्री शाहीले यामलाल कँडेललाई गाडीसहितको सुविधा दिएका थिए । उनको मुख थुन्नैका लागि मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षी दलका नेतालाई दिइने सुविधा बराबर कँडेललाई दिएका थिए ।
अर्थात गाडी, चालक, पेट्रोल र अन्य सुविधा । जसको चर्को आलोचना भयो । गाडी उपहार पाउँदा पनि त्यो बिग्रेको भन्दै मर्मत गर्न कँडेलले गाडीको मूल्यभन्दा महंगो बिल पेश गरेको थिए । जसले झन् चर्चा मात्रै पाएन । यामलाल कँडेलको आलोचना नै चुलियो ।
त्यसबाट आक्रोशित बनेका तत्कालिन प्रमुख प्रतिपक्षी दलका नेता जीवन शाहीले आफू चढ्ने गाडी कँडेललाई दिएका थिए । उनले आफू चढ्ने गाडी र चालक कँडेललाई बुझाएका थिए । प्रतिपक्षी दलको नेता आफू भएकाले त्यो सुविधा पाएपनि सरकारले कँडेललाई त्यही अनुसारको सुविधा दिएपछि जीवन शाही आक्रोशित भएका थिए ।
जुन आक्रोश उनले गाडी बुझाएर देखाए । जसको सर्वत्र चर्चा भयो । यामलाल कँडेलको आलोचना भयो । त्यसपछि लाजले पनि कँडेलले गाडी फिर्ता गरे । नेता खुशी पार्न जस्तोसूकै कदम उठाउने कर्णाली प्रदेश सरकार झन् आलोचित बन्यो ।
यामलाललाई गाडी बुझाएको बिर्सने जीवन शाही ?
अहिले परिस्थिती फेरिएको छ । सत्तापक्ष र प्रतिपक्षको कुर्सीमा बस्ने नेता फेरिएका छन् । तर नेता उही हुन् । अर्थात जीवन शाही र यामलाल कँडेल । शाही सत्ताधारी दलका नेता छन् । कँडेल प्रमुख प्रतिपक्षी दलका नेता ।
महेन्द्र शाही भने मुख्यमन्त्रीकै कुर्सीमा छन् । त्यतिबेला मुख्यमन्त्रीले यामलाललाई गाडीसहितको सुविधा दिएर आफनो मानमर्दन गरेको आरोपमा गाडी बुझाउने जीवन शाही अहिले लाज पचाएर सरकारबाट गाडीसहितको सुविधा लिएर हिडिरहेका छन् ।
अबको चार महिनापछि मुख्यमन्त्रीको कुर्सीमा बस्ने पालो कुरिरहेका जीवन शाहीले सत्ताबाट उपहार पाएको गाडी चढिरहदा हिजो आफैँले यामलाललाई गाडी बुझाएको बिर्सिए । हो, यहीनेर आउँछ, नैतिकताको प्रश्न ।
संघीय सरकारमा पर्यटनमन्त्री भइसकेका जीवन शाही आफूलाई विद्धान र शिक्षित नेता ठान्छन । हुम्ला जस्तो विकट जिल्लामा जन्मेर नेपाली राजनीतिको केन्द्रमा पुगेका उनको संघर्षको कथा लामै छ । त्यही संघर्षमा उनको इमान र नैतिकता पनि जोडिएको छ ।
तर सत्तामा पुगेपछि त्यो इमान र नैतिकता कुल्चिएर नेताहरु सुविधाभोगी हुन्छन् । जुन कुरा उनीहरु बिर्सन्छन् । नपत्याए आज जीवन शाहीलाई हेर्नुस । हिजो विरोधमा आफूले चढ्ने गाडी यामलाललाई बुझाउने जीवन शाही आज कुन नैतिकताको धरातलमा उभिएर प्रतिपक्षी दलको नेताले चढ्ने गाडी चढ्दैछन् ?
जीवन शाही तिनै नेता हुन्, जसले आफ्नो पार्टीबाट सरकारमा मन्त्री भएकालाई १३ बुँदे आचारसंहिता पालना गर्न उर्दी लगाए । जुन हाडीगाउँको जात्रा बराबर हो । आफ्ना मन्त्रीलाई आचारसंहिता लगाउने उनी आफु भने सत्ताकै दुरुपयोग गरेर जनताको करबाट संकलित करोडौ मूल्यको गाडी चढ्दैछन् ।
जुन सत्ता र स्वार्थ मात्रै होइन, जीवन शाहीको राजनीतिक जीवनमा पनि सँधै पेचिलो बनिरहने प्रश्न हो ।
उनले यसको जवाफ दिउन या नदिउन । तर जनताले सँधै यो प्रश्न गरिरहनेछन् । आखिर नेताहरुको यति धेरै मतिभ्रष्ट कसरी हुन्छ ? त्यो पनि कर्णालीमा । जहाँ अभाव, विकटता र गरीबीमाथि राजनीति हुन्छ ।