नवलपुर : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली राजनीतिमा अत्यन्तै क्रि याशील हुन । सङ्घीयता आएपछि मुलुकमा पहिलो पटक सम्पन्न प्रदेशसभाको निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ ९क०बाट नेपाली विजयी भएर गण्डकी प्रदेशसभा सदस्य भए ।उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गर्दै प्रदेशसभामा आफ्नो स्थान सुरक्षित गराए ।
विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसका नेपालीले १७ हजार ६८३ मत प्राप्त गरी गठबन्धनका उम्मेदवार न्यौपानेलाई ३८२ मतान्तरले पराजित गरेका थिए । उनका बुवा गोवद्र्धन शर्मा पोखरेल राणाशासनका विरोधमा सधैँ क्रियाशील थिए । कांग्रेसमा लागेर शर्मा तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत हुन ।
एकहत्तर वर्षीय नेपालीको जन्म तनहुँमा भए पनि राजनीतिक थलो भने नवलपरासी भयो । विसं २०० मङ्सिर १३ गते तनहुँमा द्रौपदा शर्माका कोखबाट जन्मिनुभएका नेपालीका चार दाजुभाइमध्ये जेठा दाजु रामचन्द्र पोखरेल पूर्वसांसद र साहिँला भाइ डा. जगदीशचन्द्र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन । भने कान्छा भाइ अमेरिकामा बस्दै आएका छन ।
नेपालीको राजनीतिक थलो नवलपरासी भए पनि विद्यार्थी राजनीति भने तनहुँबाटै शुरु भएको थियो । प्रजातान्त्रिक समाजवादक हिमायती नेपालीलाई निष्ठा र त्यागको पर्यायका रुपमा लिने गरिएको छ । विद्यार्थीकालदेखि नै उहाँमा राजनीतिक चेत थियो । उनी विसं २०२८ मा कांग्रेस तनहुँको जिल्ला सदस्य बने ।
प्रजातान्त्रिक आन्दोलनकै क्रममा विभिन्न समयमा गरी उनी ६ पटक कारागार पुगेका थिए । विसं २०३५ को विद्यार्थी आन्दोलनमा उनले कास्की कारागारमा दुई पटक गरेर पाँच महिना विताए । विसं २०३७ को जनमतसङ्ग्रहका क्रममा फेरि आठ महिना कास्की कारागारमै बस्न बाध्य भए । विसं २०३८ मा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेप्नुभएका उनले अर्को दुई महिना कारागारमा विताए ।
देशमा बहुदलीय व्यवस्था माग्दै विसं २०४२ मा कांग्रेसले सत्याग्रह घोषणा गरेको थियो । तत्कालीन नवलपरासीबाट सत्याग्रहमा सक्रिय नेपालीले परासी–कपिलवस्तु कारागारमा गरेर एक वर्ष कारागार जीवन विताए । विसं २०४६ को जनआन्दोलनमा परासी कमाण्डर नेपाली नजरबन्दमा पनि परे । नजरबन्दपछि नेपालीलाई पाल्पाको कारागारमा नौ महिना राखियो ।
भारतको दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेका उनीपछि नेपालकै त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण गरे । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगे । माध्यमिक शिक्षा विहारको नरकटियागञ्जबाट पूरा गरेका नेपाली दरभङ्गाबाट मानविकी सङ्कायमा स्नातक गरेपछि नेपाल फर्केका थिए ।
विसं २०४८ को कांग्रेस अधिवेशनपछि उनी निरन्तर चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति रह्रे । विसं २०४८ को आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भए । विसं २०६२÷६३ को जनआन्दोलनमा उनले नवलपरासीको नेतृत्व सम्हालेका थिए । त्यस बेला पनि उहाँ कारागारमा बसे । कांग्रेसको १२औँ महाधिवेशनबाट नेपाली केन्द्रीय सदस्यमा निर्वाचित भए । विसं २०७० को संविधानसभा निर्वाचनमा नेपाली ३२५ मतले पराजित भएका थिए । ।त्यतिबेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका थिए ।
मुलुक सङ्घीयतामा गएपछि साविकको नवलपरासी विभाजन भएर दुई जिल्लामा परिणत भयो । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा रह्यो भने पूर्व नवलपरासी गण्डकी प्रदेशमा रहन पुग्यो । मुलुकको कान्छो जिल्लाको पहिचान बनाएको नवलपुरबाट प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा पुगेपछि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति भएका हुन । साठी सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सदस्य छन् । एमाले माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बनेको थियो । मुख्यमन्त्री नेपाली यसअघि गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी संसदीय दलको नेताका रुपमा चुनिए ।
प्रदेशसभाका काम कारबाही, प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा नेपाली जहिल्यै क्रियाशील रहेका थिए । बजेट बाँडफाँटमा होस् वा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सदस्यलाई गरिएको विभेदका विषयमा होस्, उनले प्रदेशसभाम आवाज उठाउँदै सरकारलाई सही दिशामा हिँड्न बाध्य बनाएका थिए । - टेकराज पोखरेल/रासस