सुर्खेत : नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेश सभाको बजेट अधिवेशन बोलाउन माग गरेको थियो । जुन आफैमा फरक घटना हो । प्रतिपक्षीको माग अनुसार सरकारले तत्कालै प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्यो ।
आठौँ अधिवेशन जेठ २४ गते डाक्न प्रदेश सरकारले प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीलाई सिफारिस गरेलगत्तै बैठक सुचार हुने धेरैको अपेक्षा थियो । त्यसैका आधारमा प्रदेश प्रमुख कलौनीले जेठ २४ गते दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाए । तर दिउँसो २ बजे बोलाइएको बैठक केही समय ढिला हुन पुग्यो । उक्त दिन ३ बजेबाट बैठक सुरु भयो ।
बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोल्दैँ नैतिक पतन भएको फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने चेतावनी दिए । एमालेबाट फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाको राजीनामा मागेर एमालेले संसद अवरुद्ध गर्याे । उक्त दिनमा पनि कार्यसुचिमा नै प्रवेश गर्न नपाई एमालेले संसद चल्न दिएन ।
‘कुनै पनि व्यक्तिले राजनितिक निर्णय लिन पाइन्छ अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो होइन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन,’ बैठकमा बोल्दैँ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । बजेट, नीति कार्यक्रम ल्याउनुहोस् । त्यसमा हामी सकारात्मक छौँ । रचनात्मक सहयोग गर्न तयार छौँ ।’

उक्त बैठक सुरु हुनासाथ अवरुद्ध भएपछि आधा घण्टाका लागि सभामुख राजबहादुर शाहीले संसद बैठक स्थगित गरे । आधा घण्टा भनेको स्थगित भनेको बैठक केही सयम ढिला चल्यो । पुनः चलेको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद करबिर शाहीले मन्त्री थापालाई पदबाट नहटाएसम्म संसद बैठक अवरुद्ध हुने जानकारी गराएपछि फेरी पनि बैठक स्थगित भयो ।
त्यसपछि बैठक २५ गते दिउँसो २ बजेका लागि तोकिएको थियो । २५ गते तोकिएको बैठक नै बस्न सकेन् । त्यो बैठक पनि बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर जेठ २६ गते बुधबार दिउँसो २ बजेसम्म बैठक स्थगित गरेको थियो ।
जेठ २६ गते दिउँसो २ बजे पुनः संसदको बैठक बस्यो । संसदको बैठक बस्न साथ एमाले संसदीय दलका नेता यामलाल कँडेलले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको बताए । ‘यो सरकारको सदनबाट बजेट ल्याउने नियत छैन । बाटो छँदैछ भन्दै मनोविज्ञान सम्प्रेषण गरिरहेका छन्’ उनले भने, ‘राजनीतिक प्रतिशोधका रुपमा उक्त कुरा उठाएका होइनौं । पात्रका बारेमा कुरा उठाएका होइनौं । प्रवृत्तिका बारेमा उठाएका हौं ।’
कँडेलले सरकार संसदबाट भाग्न खोजेको आरोप लगाए । ‘यो सरकार संसदबाट बजेट ल्याउने पक्षमा छैन्’ उनले भने, ‘यो बर्बादी समय खेर फाल्न चाहन्छ ।’ प्रतिपक्ष एमालेले भने, तेस्रो दिनसम्म लगातार संसद अवरुद्ध गर्दा सभाको कार्यसूची प्रवेश गर्न पाएको छैन ।
सांसद कडेलले संसदमा करिब आधा घण्टा बोलेर बेन्चमा नबसेर उनीसहित अन्य सांसदहरु उठेर करिब २० मिनेट मौन बसे । सभामुख राजबहादुर शाहीले बारम्बार बस्न अनुरोध गरे पनि एमालेका नेताहरु नबस्दा आधा घण्टाका फेरी संदन स्थगित भयो । आधा घण्टाका लागि स्थगित भएको बैठक फेरी बस्न नसक्दा संसद सचिवालयले सूचना टाँस गरेर जेठ २७ गते बिहिबार दिउँसो २ बजेसम्म बैठक स्थगित गरेको छ ।
बुधबारको बैठकमा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चर्को विरोध समेत गरेका छन् । शाहीको जनयुद्धको समयको गतिविधि होस या प्रदेश सरकारको मुख्यमन्त्री भएपछिको कुरा होस विरोध मात्र गरिरहे । तर, शाही संसदमा बुधबार सहभागी थिएनन् । दिनबाट एमालेले जब सम्म आफ्नो माग पुरा हुदैँन तब सम्म संसद चल्न नदिने अडानमा बसेको छ ।
एमालेको लगातारको अवरोधले गर्दा कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी प्रभावित भइरहेको छ । कर्णाली प्रदेश सरकारलाई बजेट र नीति तथा कार्यक्रम नै अलपत्र पार्ने प्रमुख प्रतिपक्षी दल एमालेको रणनीतिलाई विवादित मन्त्री थापाको प्रकरणले बल दिइरहेको छ । जसले कर्णाली प्रदेश सरकार अप्ठेरोमा परेको छ ।