कर्णाली : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने लाइनमा सुर्खेतका सांसद ध्रुब शाहीको नाम पनि जोडिएको छ । एकपटक स्पष्टीकरण सोध्नेवित्तिकै माधव नेपाल गुट छाडेर ओली गुटमा प्रवेश गरेका शाही मन्त्रिपरिषद पुनर्गठनमा मन्त्री बन्ने चर्चा चलेको हो ।
कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरी शाहीलाई मन्त्री बनाउने चर्चा एमालेवृत्तमा छ । तर निश्चितता भने छैन । जसपाका १२ जना सांसदलाई मन्त्री बनाएपनि अझै आठ मन्त्रालय प्रधानमन्त्री ओलीसँग छन् । त्यसमध्ये एउटा मन्त्रालय कर्णाली प्रदेशका सांसदलाई दिने ओलीको तयारी छ ।
यसका लागि ध्रुव शाहीको नाम बढी चर्चामा छ । सुर्खेतबाट यामलाल कँडेल, निवर्तमान राज्यमन्त्री नवराज रावतको दबाब पनि ध्रुव शाहीलाई मन्त्री बनाउनुपर्ने भन्ने छ । तर मन्त्रिपरिषदमा दलित तथा महिलाको प्रतिनिधित्व पनि गर्नुपर्ने भएकाले दैलेखबाट पार्वती विसुंखेलाई मन्त्री बनाउनुपर्ने चर्चा पनि उत्तिकै छ ।
मन्त्री बन्नैका लागि हालै ध्रुब शाहीले सुर्खेतमा माधव पक्षबाट समानान्तर कमिटी बनाएका सचिव मोहन बडुवाललाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेका छन् । ओली शैलीलाई पछ्याएर मन्त्री पद पड्काउनैका लागि उनले बडुवालमाथि कारबाही गर्न हतार गरेको चर्चा सुर्खेतमा छ ।
आइतबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएपनि मन्त्रीको आकांक्षी धेरै भएकाले बुधबार मन्त्री नियुक्त गर्ने तयारी छ । ढिलोमा बिहीबारसम्म ओलीले आफुनिकट, माधव गुट र माओवादी छाडेर आफ्नो गुटमा आएकालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेर आलोचित बनिरहेका प्रधानमन्त्री ओली भने आफ्नै तालमा मन्त्री बनाउने र फाल्ने दौडमा छन् । ओली सरकारमा नयाँ गृहमन्त्री बन्न महेश बस्नेत, कर्ण थापा र खगराज अधिकारीको चर्को प्रतिष्पर्धा रहेको एमाले नेताहरुले बताएका छन् ।
यो पनि पढौँ
दैलेखकी सांसद पार्वती विसुंखे मन्त्री बन्ने चर्चा