रुकुम पश्चिम : जिल्ला अस्पताल सल्लेमा रहेका कोरोना भाइरसबाट संक्रमित बिरामी र कुरुवाको लागि निःशुल्क खाना खुवाउदै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले गरिरहेको सेवा चौतर्फी चर्चा भएको छ । साथै यो अभियानमा सहयोग गर्नेहरु र साथ दिनेहरु बढिरहेका छन् ।
यसै बीचमा आइतवार निःशुल्क खाना खुवाउने अभियानको लागि रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालय खलंगामा २०६२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले खाद्यान्न र स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन । करिब १ लाख बराबरको सामग्रीहरु आज निःशुल्क खाना तयारीको लागि मेस सञ्चालन भैरहको सरस्वती माध्यमिक विद्यालय सल्लेमा हस्तान्तरण गरिएको हो । सामग्रीहरु नेकपा रुकुमका जिल्ला कार्यालय सदस्य नरेन्द्र बिकलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला भित्र र केहि जिल्ला बाहिर विभिन्न पेशामा आवद्ध २४ जना पूर्व विद्यार्थीहरुले करिब १ लाख बराबर रकम संकलन गरेर खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराइएको अभियानको सहयोगी सुष्मा घर्तिमगरले जानकारी दिइन । आफुहरुले निश्वार्थ रुपमा सहयोग गरेको र सामाजिक क्षेत्रमा काम गर्न पूर्व बिद्यार्थीहरु एकजुट भएको बताए ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा १ का वडाध्यक्ष बिरबल केसी, वडा सदस्य टेक बहादुर बिसि, त्रिभुवन जनता माविका प्रधानाध्यापक हरि प्रसाद खनाल, शिक्षक संगम केसि, डम्मर खड्का, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका प्राध्यापक हरिबिष्णु ओली, सरस्वती मावि सल्लेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर थापा, प्राचार्य खम्बु थापा, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी , प्रहरी नायव निरीक्षक शेर बहादुर चन्दको उपस्थिति रहेको थियो ।