सुर्खेत : कर्णाली प्रदेशसभाको तेस्रो ठूलो दल नेपाली कांग्रेस सरकारमा जाने भएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए ।
कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो । मुख्यमन्त्री निकट स्रोतले बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेरको निर्णय गर्ने बतायो । ‘यो निर्णयसँगै कांग्रेसले आफ्ना तर्फबाट मन्त्रीको नाम सिफारिस गर्ला,’ स्रोतले भन्यो, ञभोलि ९शुक्रबार० सम्म शपथ गराउने तयारी भएको छ ।
वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर उनको सत्ता जोगाएको थियो । लगत्तै सरकारमा जाने सहमति भए पनि मन्त्रालयको संख्या ७ पुर्याएर कांग्रेसलाई एउटा मात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन । त्यसपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका विन्दमान बिष्टलाई ‘ब्याक’ गर्दै कांग्रेसका लागि दुइटा मन्त्रालय दिने निर्णय गरेको थियो । त्यसपछि पनि सामाजिक विकासबाट अलग्याइएको युवा तथा खेलकुदलाई सोही मन्त्रालयअन्तर्गत राख्नुपर्ने माग राखेको थियो ।
कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् ।
कांग्रेस सत्तामा जान ढिलो हुँदा सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वानको सिफारिस गर्नसमेत ढिलाइ गरेको थियो । हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ ।
कलेन्द्र सेजुवालले तयार पारेको यो सामग्री हामीले इकान्तिपुरबाट लिएका हौं - सम्पादक