काठमाडौ : विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साना दलका सांसदले सरकारले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने ढङ्गले जनमत संसद्लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको आरोप लगाएका छन् ।
सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष२०७८/७९ को बजेटलाई उनीहरुले अल्पमतको काम चलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै नभएको अवस्थामा सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी बजेट ल्याएको प्रतिक्रिया दिए ।
राष्ट्रिय जनमोर्चाकी नेत्री एवं निवर्तमान सांसद दुर्गा पौडेलले संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य मान्यता विपरीत संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याइनु भनेको लोकतन्त्र र गणतन्त्रको जगलाई नै भत्काउने प्रयास मात्र नभई अत्यन्तै खतरनाक विषय भएको टिप्पणी गरे ।
कोभिड– १९ सङ्क्रमण रोकथामका लागि सांसद विकास कोष पूर्वाधार विकास कार्यक्रम आवश्यक नभएकाले महामारी नियन्त्रणमा उक्त शीर्षको बजेट लगाउन सुझाव दिएको प्रसङ्ग उल्लेख गर्दै नेत्री पौडलले कोरोना नियन्त्रणलाई छुट्याएको बजेट पूर्णरूपमा कार्यान्वयनमा जान सकोस् भने ।
स्वतन्त्र निवर्तमान सांसद छक्कबहादुर लामाले लोकतान्त्रिक शासन पद्धतिमा विपक्षी दलहरुलाई समेटेर जानु पर्नेमा सरकारले एकपक्षीयरूपमा ल्याएको बजेट आमजनताको जनजीविका र राष्ट्रले सम्बोधन गर्नुपर्ने प्राथमिकताका विषय नसमेटिएको टिप्पणी गरे ।
जनता समाजवादी पार्टीका नेता एवं निवर्तमान सांसद रामबाबुकुमार यादवले जनतालाई अलमल्याउने ढङ्गबाट आएको बजेट ज्येष्ठ नागरिक भत्ताबाहेक अरु कार्यान्वयनमा जाने सम्भावना कहीँ कतै नदेखिएको प्रतिक्रिया दिए ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यँलयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्याहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासकारूपमा हेरिएको प्रतिक्रिया दिएको थियो । रासस