काठमाडौँ : जनताले रगत र पसिना बगाएर कर्णाली प्रदेश स्थापना गरेका हुन् । संघीय नेताहरुले कर्णालीलाई सुदुरपश्चिममा गाभेका बेला कर्णालीका जनताले सुर्खेतमा आन्दोलन चर्काउँदै रगत र पसिना बगाएपछि कर्णाली प्रदेश स्थापना भएको थियो ।
संघीयतामा अखण्ड मध्यपश्चिम नारा उचालेका कर्णालीका नेताहरुले अन्ततः आन्दोलनबाटै कर्णाली प्रदेश निर्माण र स्थापना गरिछाडे । जुन आन्दोलनको फ्रण्टलाइनमा थिए, सुर्खेती नेता यामलाल कँडेल र नवराज रावत । दुवै जना एमालेका चर्चित नेता हुन् ।
संविधान जारी भएर संघीयता लागू भएपछि नवराज रावतले प्रतिनिधिसभाको चुनाव लडे, यामलाल कँडेलले भने प्रदेशसभाको चुनाव लडे । माओवादीसँग चुनावी सहकार्य गरेका कारण दुवै जनाले जित हासिल गरे । कँडेलले जित्ने सम्भावना बढ्दा रावतलाई भने माओवादीसँगको केन्द्रीय सहकार्यले भाग्य जुराएको हो ।
यसअघिका चुनावमा रावत तीनपटक पराजित भइसकेका नेता हुन् । २०६४ मा नरबहादुर बिष्टसँग र २०७० सालको चुनावमा तप्त बिष्टसँग रावत पराजित भएका थिए । २०७४ सालमा भने माओवादी र एमालेको सहकार्यले रावतको सांसद बन्ने सपना साकार भयो ।
केन्द्रीय राजनीतिमा पुगेपछि रावत सांसद मात्रै बनेनन्, ओलीको छत्रछायाले गर्दा स्वास्थ्य राज्यमन्त्री बन्न पनि सफल रहे । ओलीले लामो समयदेखि आफ्नो गुटमा रहेका रावतलाई मन्त्रिपरिषद पुनर्गठनका बेला स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिए । जुन अहिलेसम्म कायमै छ ।
कर्णाली प्रदेश स्थापनाका लागि आन्दोलनको कमाण्ड सम्हालेका रावत र कँडेल पछिल्लो एक हप्ता यता संघीयता विरोधी नेताका रुपमा चित्रित छन् । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई संघीय सरकार मातहत ल्याउन स्वास्थ्य राज्यमन्त्री रावत आफैले मन्त्रिपरिषदमा प्रस्ताव पठाएका छन् ।
जसको समर्थनमा छन्, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल । स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेश अस्पताल संघ मातहत ल्याउन प्रक्रिया थालेलगत्तै कर्णालीका धेरैजसो नेता तथा नागरिक समाज यसको विरोधमा छन् ।
उनीहरु सामाजिक सञ्जालमा चर्को आक्रोश पोखिरहेका छन् । तर पूर्व मन्त्री तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलले फेसबुकमा लेखे, 'संघ अन्तर्गत रहेको क्षेत्रीय अस्पताललाई प्रदेश सरकार अन्तर्गत ल्याउन हामी सबैले मेहेनत गरियो, आयो पनि । यसबीचमा प्रदेश सरकारले प्रदेश अस्पतालप्रति देखाएको उदासिनता र महामारीको बिचमा अस्पतालले गरेको गैरजिम्मेवार गतिविधिका कारण हाल संघीय सरकारले प्रदेश अस्पताललाई आफ्नो मातहत लिने प्रक्रिया शुरू गरेको जानकारी हुँदाहुँदै पनि बिरोध गर्न सकिएन।'
उनको यो फेसबुक स्टाट्सले देखाउँछ, कर्णाली प्रदेश अस्पताल संघ मातहत फर्काउन स्वयंम कडँेल लागिरहेका छन् । सम्भवतः स्वास्थ्य राज्यमन्त्री रावतलाई उक्साउने नै उनी हुन् । जसकारण वर्षौ संघर्ष गरेर, आन्दोलन गरेर आएको संविधान र संघीयता कार्यान्वयन गर्नुको साटो भएको संरचना पनि संघ मातहत पठाउँदैछन् ।
यसले यामलाल कँडेल र स्वास्थ्य राज्यमन्त्री रावतलाई कर्णालीको शत्रु बनाइरहेको छ । कर्णालीका जनता उनीहरुको निर्णय र नियतप्रति आक्रोशित छन् । आफ्नो प्रदेश बलियो बनाएर भएका संरचना विकासमा जोड दिनुको साटो संघमा फिर्ता पठाउनु भनेको उनीहरु कर्णालीका जनताका लागि शत्रु बन्नु हो । तर यो कुरा स्वयंम कँडेल र रावतले बुझ्ने कहिले ?
वास्तवमा उनीहरु कसका लागि यो सबै गरिरहेका छन् ? कर्णाली प्रदेश सरकार असफल बनाउन ? माओवादी नेतालाई आफ्नो शक्ति देखाउन ? यो कोरोना कहरमा जनतालाई थप मार पार्न वा अरु केही राजनीतिक दाउपेचका लागि । जनताले यसको जवाफ खोजिरहेका छन् ।