काठमाडौँ : प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको २१ घण्टाको समयसीमामा विपक्षी गठबन्धनबाट देउवा र एमालेबाट ओलीले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
देउवाको पक्षमा १४९ जना सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेस, माओवादी, जसपा र एमाले माधव नेपाल पक्षका सांंसदको चाहना देउवा प्रधानमन्त्री बनून भन्ने छ । त्यही भएर उनीहरुले हस्ताक्षर गरेका छन् । तर ओलीले आफ्नो पक्षमा १५३ जना सांसदको हस्ताक्षर रहेको दाबी गरिरहेको छन् ।
जुन आफैमा आश्चर्यजनक छ । एमाले माधव पक्षले समर्थन नगरेपछि ओलीको पक्षमा जसपाका १५ जना सांसद र ओली पक्षका सांसद छन् । जुन जोड्दा मुश्किलले १०० जना सांसद मात्रै पुग्छन् । तर ओलीले आफ्नो पक्षमा १५३ सांसद रहेको झुटो दाबी गरिरहेका छन् ।
यस्तो बेलामा प्रधानमन्त्री देउवा बन्ने सम्भावना छ । तर यसका लागि निर्णायक मानिएको जसपा र एमाले माधव नेपाल पक्षले भोट दिन जरुरी छ । यदि उनीहरुले अन्तिम समयसम्म समर्थन गरेमा नेपालको नयाँ प्रधानमन्त्री देउवा बन्ने सम्भावना धेरै छ ।
के माधव नेपालको भरोसा छ ?
देउवा प्रधानमन्त्री बन्नुको सबैभन्दा ठूलो भरोसा माधव नेपालमाथि छ । पछिल्लो एक हप्ता यता प्रधानमन्त्री ओलीसँग तीन पटक वार्ता भएपनि त्यो निष्कर्षमा पुग्न सकेको छैन । जसकारण माधव नेपाल समूह असन्तुष्ट छ । तर माधव नेपाल ढुलमुले छन् । उनले यसअघि माओवादी र देउवालाई धोका दिएको आरोप खेपिरहेका छन् ।
माधव नेपालले साथ दिएकै कारण देउवा प्रधानमन्त्रीका लागि हौसिएका हुन् । तर त्यो कत्तिको कायम रहन्छ भन्ने चुनौति छ । यता माधव नेपाल पक्षले देउवालाई साथ दिएपछि ओलीले उनीहरुलाई सांसद पदबाट हटाउने चेतावनी राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
माधव नेपाल पक्षका सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने अवस्था आए उनीहरुमाथि कारबाही गर्ने धम्की ओलीको छ । यसले गर्दा पनि माधव नेपाल पक्ष बरु सांसद पद गुमाएपनि देउवामाथिको समर्थन कायम राखेमा मात्रै ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सक्छ । अन्यथा गाह्रो छ ।
यस्तै माधव नेपाल पक्षजस्तै जसपा पनि देउवाका पक्षमा स्पष्ट हुन जरुरी छ । अहिले महन्थ ठाकुर र उपेन्द्र यादवले जसरी देउवालाई समर्थन दिएका छन् । त्यो अन्तिम समयसम्म कायम रहेमा देउवा प्रधानमन्त्री बन्ने सम्भावना धेरै छ ।
तर यसका लागि ओली अबको राजनीतिमा कत्तिको इमान्दार बन्छन् भन्नेमा धेरै कुरा निर्भर छ ।