काठमाडौँ : कोभिड महामारीले जनता आकुल ब्याकुल छन् । दैनिक ज्यान गुमाइरहेका छन् । कर्णालीमा कोभिडको असर सबै जिल्लामा देखिसकेको छ । सबै जिल्लामा संक्रमित भेटिदा यसको मृत्युदर पनि बढ्दैछ । यसरी हेर्दा कोभिड जटिल समस्याका रुपमा देखिएको छ ।
कर्णाली प्रदेश सरकार सकेसम्म राम्रा कामलाई निरन्तरता दिने प्रयासमा छ । कोभिडमा बिरामीलाई बचाउने प्रयासमा छ । तर उसका प्रयास निरर्थक देखिन्छन् । मुख्यमन्त्री महेन्द्र शाहीको सरकार अक्षम भनेर आरोप लागिरहेका बेला उनको काममा जादु देखिदैन् । मात्रै ढिलासुस्ती छ ।
यस्तो बेला कोरोना नियन्त्रणमा ठोस कदम चाल्ने सामाजिक विकास मन्त्रालय नेतृत्वविहीन छ । कर्णालीमा माओवादी, कांग्रेस र एमाले माधव नेपाल पक्षको घोषित सहकार्य छ । त्यसअनुसार कांग्रेसको भागमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी छ । तर अहिलेसम्म हेर्दा कांग्रेस रमिता हेरिरहेको छ ।
माओवादी कोटामा परेका दुई जना मन्त्री नियुक्त भइसकेका छन् । तर दुई वटा मन्त्रालय दाबी गरेर पनि पाएको कांग्रेसले मन्त्री बन्नेको नाम सिफारिस गर्न सकेको छैन् । कोभिडले जनता मरिरहेका छ्न । अस्पतालको अक्सिजन छैन् । जनताले सास फेर्न नसकेर ज्यान गुमाइरहेका छन् ।
तर कांग्रेस सामाजिक विकास मन्त्रालय ताकेर अलपत्र पारिरहेको छ । न सरकारमा जान्छ । न मन्त्री बन्ने सांसदको नाम सिफारिस गर्छ । न त सरकार छाडेर प्रतिपक्षी बन्न सक्छ । मात्रै घुर्की लगाएर बस्ने कांग्रेसले यतिबेला रमिता देखाइरहेको छ ।
त्यतिमात्रै होइन, यतिबेला कर्णाली प्रदेश अस्पतालाई केन्द्र सरकारले आफ्नो मातहत ल्याउँदैछ । यसका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ । तर अहिलेसम्म पनि यसबारे कांग्रेसले एउटा विज्ञप्ति निकाल्न सकेको छैन ।
कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवन शाही यस विषयमा मौन देखिन्छन् । उनले कुनै बोली निकालेका छैनन् । केही समयअघि कर्णाली खबरसँगको कुराकानीमा उनले तत्काल सरकारमा नजाने, बाहिरै बसेर सहयोग गर्ने भनेका थिए ।
तर उनकै अडानले गर्दा मुख्यमन्त्री शाहीले नियुक्त गरेका तीन जना मन्त्रीलाई बर्खास्त गरेर दुई जनालाई मात्रै फेरि मन्त्री नियुक्त गरे । यस्तो कोभिडको बेला कांग्रेसले सामाजिक विकास मन्त्रालय जस्तो विभागीय र सबैभन्दा महत्वपूर्ण मन्त्रालय होल्ड गरेर राख्नु राजनीतिक अपराध हो ।
माओवादी सरकार असफल बनाउने कांग्रेसको ध्येय हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार नै ढाले हुन्छ । होइन भने यस्तो महामारीको बेला आफू पनि काम नगर्ने अर्कोलाई पनि काम गर्न नदिने कांग्रेसको सधै अन्योलमा रहने प्रवृत्तिले जनता मृत्युवरण गर्न विवश छन् ।
यसबारे समयमै कांग्रेस सचेत हुन जरुरी छ ।