काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बुधबार मुख्यमन्त्री शाहीले माओवादी केन्द्रबाट तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा सीता नेपाली, बिन्दमान बिष्ट र गोपाल शर्मा छन् ।
नेपाली माओवादी केन्द्रकी प्रमुख सचेतक समेत हुन् । नेपाली जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा नियुक्त भएकी छिन् । यस्तै विन्दमान विष्ट आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्री, गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
त्यसअघि मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर आफ्नो सरकार जोगाउने तीन जना एमाले सांसदलाई मन्त्री बनाएका थिए । एमालेका प्रकाश ज्वालासहित चार जना सांसदले फ्लोर गर्दा मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो ।
सरकार जोगाउने तीन जना एमाले सांसदले त्यसको भोलिपल्टै मन्त्रीमा नियुक्त गरेका थिए । जसमा दैलेखका अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री, कालिकोटका कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र डोल्पा नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
अब सामाजिक विकास मन्त्रालय मात्रै खाली छ । जुन मुख्यमन्त्री शाहीले आफैसँग राखेका छन् । प्रदेश सरकार जोगाउँदा कांग्रेसका ६ जना सांसदले विश्वासको मत दिएका थिए । सोही विश्वासको मतबाट कांग्रेस कर्णाली प्रदेशमा सहभागि हुने कुरा पनि थियो ।
तर अहिलेसम्म कांग्रेसले मन्त्रीको नाम पठाएको छैन् । ६ महिनापछि आफै मुख्यमन्त्री बन्ने धुनमा रहेका कांग्रेस संसदीय दलका नेता जीवन शाही कसलाई मन्त्री बनाउने भन्ने दबाबमा छन् । मन्त्रीका लागि यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठको नाम चर्चामा छ ।
तर कांग्रेसले मन्त्रीको नाम पठाउन सकेको छैन् । कांग्रेसले मन्त्रीको नाम नपठाउँदा कर्णाली प्रदेश सरकार पूर्ण बन्न सकेको छैन् । यसअघि कांग्रेसले सरकारमा सहभागि हुन सामाजिकसँगै अर्थ मन्त्रालय गरी दुई मन्त्रालय मागेपनि त्यो सम्भावना सकिएको छ ।
तर सामाजिक विकास मन्त्रालयलाई टुक्राएर पनि मुख्यमन्त्री शाहीले कांग्रेसलाई सरकारमा ल्याउन सक्छन् । यद्यपी यसका लागि अझै कांग्रेसकै नेताहरुबीच कुरा मिलेको छैन् । केन्द्रमा कांग्रेस, माओवादी र जसपाको सरकार बन्ने भएपछि कर्णालीमा पनि राजनीतिक सहमति केन्द्रकै निर्देशनमा हुने गरेको छ ।