काठमाडौँ : कर्णालीमा एमालेका सांसदलाई फ्लोर क्रस गराएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार बचाएको एक महिना बित्न थाल्यो । तर अहिलेसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
फ्लोर क्रस गरेका एमालेका तीन सांसदलाई उनले तत्कालै मन्त्रीमा नियुक्त गरे । उनीहरुको सांसद पद गैसकेको छ । तर पनि ६ महिने मन्त्री बनेर चित्त बुझाउन बाध्य छन् । त्यसबाहेक तीन जना मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री शाहीको आजको निर्णय होइन् ।
तर पनि उनी त्यो निर्णय कार्यान्वयन गर्न सकेका छैनन् । मात्रै उनी केन्द्रको निर्देशन कुरिरहेका छन् । त्यसबाहेक प्रदेशभरी अहिले कोरोना भाइरसको महामारी छ । उनकै गृहजिल्ला कालिकोटका जनताको हालत खराब अवस्थामा छ ।
जिल्लामा गतिलो अस्पताल छैन् । स्वास्थ्य सामग्री छैन् । अक्सिजन सिलिण्डर र आवश्यक सामग्री झनै छैन् । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले कसरी कोरोना संक्रमित बिरामीको उपचार गर्छन् ? आफैँमा चिन्ताको विषय छ ।
तर पनि मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई केही पनि हौसला दिन सकेका छैनन् । जसले गर्दा कर्णालीका स्वास्थ्यकर्मी निराश बनेका छन् । एकातिर महामारीले छपक्कै छोप्दा कर्णालीको राजनीतिलाई पनि मुख्यमन्त्री शाहीले राम्रोसँग अगाडि बढाउन सकेका छैनन् ।
जसले गर्दा उनको कछुवा गतिको राजनीति र निर्णय गर्ने शैली कर्णालीमा अझै व्याप्त छ । जनताहरु तुफानको वेगमा काम गरेको हेर्न चाहन्छन् । तर मुख्यमन्त्री शाही भने अझै पनि शंखेकीराकै गतिमा काम गरिरहेका छन् । जसको कर्णाली प्रदेशमा आलोचना भइरहेको छ ।
केन्द्रीय राजनीतिको छायामा कर्णाली
यति प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको राजनीति तरंगित छ । उनले विश्वासको मत लिने घोषणा गरेदेखि केन्द्रमा राजनीति तातेको देखिन्छ । जहाँ विश्वासको मत पाउनलाई कांग्रेस वा जसपाको निर्णय निर्णायक छ ।
पार्टीभित्रै माधव नेपाल र झलनाथ खनाल पक्षले मत दिने सम्भावना एकदमै कम हुँदा ओली कांग्रेसलाई फकाउन लागिरहेका छन् । तर पनि उनी सफल देखिदैनन् । उनलाई असफल बनाउन कांग्रेस, माओवादी र जसपाले गठबन्धन नै बनाएका छन् ।
केन्द्रीय राजनीतिमा अब माओवादी, कांग्रेस, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी निर्णायक हुने सम्भावना छ । यो गठबन्धन बनेमा ओली सरकार ढल्नेछ । कर्णालीमा यसरी नै एमालेको सत्ताको सपना एमालेको माधव नेपाल पक्षले तुहाएको थियो ।
माधव नेपाल पक्षले काठमाडौँमा ओलीको सरकार पनि ढाल्न सक्छ । ओली सरकार ढालेर कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने माओवादी र माधव नेपाल पक्षको तयारी छ । तर यही राजनीतिको फेरोमा कर्णालीको राजनीति अल्झिएको छ ।