काठमाडौँ : कर्णालीमा मन्त्रिपरिषद पुनर्गठनले अनेकन समस्या झेल्दै आएको छ । फ्लोर क्रस गरेका तीन जना एमाले सांसदलाई तत्कालै मन्त्रिमा नियुक्त गरेपनि बाँकी तीन मन्त्रीको नियुक्तिमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सफल हुन सकेका छैनन् ।
यसका लागि उनले काठमाडौँ धाइसके । प्रचण्ड, जनार्दन शर्मासँग मात्रै होइन, शेरबहादुर देउवाका खास मान्छेलाई पनि भेटिसके । तर पनि तीन जना मन्त्रीको नियुक्ती मुख्यमन्त्री शाहीका लागि गलाको हड्डी जस्तै भएको छ ।
फ्लोर क्रस गरेर मुख्यमन्त्रीको सरकार जोगाउने एमाले सांसद नन्द बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापाले दोहोर्याएर मन्त्रीको शपथ पनि लिइसकेका छन् । शपथ लिएका मन्त्रीमध्ये बुढाले कृषि, कुर्मराज शाहीले पर्यटन र अम्मरबहादुर थापाले भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
अब कर्णालीमा सामाजिक विकास मन्त्रालय, अर्थ मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यसमध्ये अर्थ मन्त्रालयमा विमला केसीको दाबी कायमै छ । उनका पछाडि जनार्दन शर्माको हात रहेकाले उनले अर्थमन्त्री बन्ने दाबी गरेकी हुन् ।
यसअघि कृषि मन्त्री हुँदा पत्रकारबाट चर्चा बटुलेकी उनी अहिले अर्थ मन्त्रालय हुँदा पनि त्यही रणनीति दोहोर्याउने पक्षमा छिन् । जनार्दनको हातकै कारण मन्त्री बनेकी उनलाई फेरि पनि जनार्दनले कायम राख्न चाहेको अनुमान पनि छ ।
विमला केसी बाहेक कर्णालीमा मन्त्री बन्न चाहने माओवादी र कांग्रेसबाट तीन तीन जना नेताहरु छन् । जो यसअघिदेखि नै चर्चामा छन् । माओवादीबाट बिन्दमान बिष्ट बढी चर्चामा देखिन्छन् । शक्ति बस्नेतका खास पात्र रहेका बिष्ट सुर्खेतमा रुचाइएका नेता हुन् ।
शक्ति बस्नेत हुँदै प्रचण्डसँग पनि सिधा सम्पर्कमा रहेका बिन्दमान बिष्ट यतिबेला जसरी पनि आफूले मन्त्री पद पाउनुपर्ने बताइरहेका छन् । तर पनि उनले मन्त्री पाउने नपाउने एकिन छैन् । यस्तै मन्त्रीको दौडमा रहेकी माओवादी नेतृ सीता नेपाली पनि छिन् ।
उनी माओवादी केन्द्रकी कर्णाली प्रदेश प्रमुख सचेतक हुन् । अघिल्लो पटक पनि उनी मन्त्री हुने सूचीमा थिइन् । तर अन्तिम समयमा बिमला केसीले मन्त्री पद उपहार पाइन् । सीता छुटिन् । कर्णाली प्रदेश दलित समूदायको बाहुल्यता रहेकाले सीता स्वतः मन्त्री हुने सूचीमा छन् ।
समावेशी र समानुपातिकको सबैभन्दा बढी चर्को नारा लगाउने माओवादीले कर्णालीमा दलित समूदायलाई थिचोमिचो गरेको आरोप लागिरहेका बेला त्यो आरोपबाट बच्नका लागि सीता नेपालीलाई मन्त्री बनाउनुपर्ने बाध्यता छ ।
यसका लागि उनले जनार्दन शर्मा, शक्ति बस्नेतदेखि प्रचण्डसँग लबिङ गरेकी छिन् । भेटमा सबैले कर्णाली प्रदेश सरकारलाई समावेशी बनाउन सीतालाई मन्त्री बनाउनुपर्ने बचन दिएका छन् । तर अब के हुन्छ ? हेर्न बाँकी छ ।
त्यस्तै मन्त्री हुने लाइनमा छन्, जनार्दनकै जोडबलमा रुकुमका गोपाल शर्मा । शर्मा जनार्दनकै भाई हुन् । दाईकै जोडबलमा मन्त्री बनी छाड्ने लाइनमा उनी देखिन्छन् । तर कर्णालीमा सबैभन्दा ठूलो जातीय नरसंहारको रुकुम सोती घटनाका कारण शर्मालाई मन्त्री बनाउँदा अर्को असन्तुष्टि बढ्नेतर्फ पनि मुख्यमन्त्री सचेत देखिन्छन् ।
पीडितलाई न्याय नदिएरै घटना दबाउन भूमिका खेल्नेलाई मन्त्री पद उपहार दिँदा कर्णालीमा दलित समूदायको आक्रोश चर्किने पनि राजनीतिक वृत्तमा चर्चा छ ।
यस्तै कांग्रेसबाट एक जना नेताले मन्त्री पद पाउने कुरा छ । जुन कुरा सरकार बचाउने सहमतिमा थियो । तर अहिले कांग्रेसले दुई मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । सामाजिक विकास मन्त्रालय र अर्थ मन्त्रालयमा कांग्रेसको दाबी छ ।
यसका लागि कांग्रेसले सत्तापक्षको सिट छाडेर प्रतिपक्ष सिटबाट आन्दोलन गर्दै आएको छ । ६ महिनापछि मुख्यमन्त्री पाउने कांग्रेसले अहिल्यै दुई वटा मन्त्री पद मागेको छ । तर दुई मन्त्रीका लागि पनि तीन जना कांग्रेस नेताको हानथाप छ ।
कांग्रेसका यज्ञबहादुर बिसी, दिनबन्धु श्रेष्ठ र हिमबहादुर शाही मन्त्री बन्न लबिङ गरिरहेका छन् । यसका लागि कांग्रेसका उच्च नेताहरुको पनि दबाब छ । उनीहरुमध्ये को मन्त्री बन्छन् ? हेर्न बाँकी छ । तर सबैलाई भागबण्डा पुर्याउन मुख्यमन्त्री शाही मन्त्रालय फुटाउनुपर्ने दबाबमा समेत देखिएका छन् ।