काठमाडौँ : एमालेका चार सांसदको फ्लोर क्रसबाट मात्रै होइन, कर्णालीमा माओवादीको सरकार जोगाउने एक प्रमुख पार्टी हो, कांग्रेस । चैत महिनासम्म झण्डै तीन वर्ष प्रमुख प्रतिपक्षी भएर बसेको कांग्रेस माओवादीको सरकार जोगाएपश्चात सत्तारुढ पार्टी हो ।
तर अपशोच ! कांग्रेस प्रतिपक्षकै सिटमा बसिरहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बन्नेहरुको नाम मागिरहदा कांग्रेस भने प्रतिपक्षी दलमै सिमित बनेको छ । माओवादीले पटक पटक सत्तापक्षको कुर्सीमा बस्न आग्रह गरेपनि कांग्रेसले भने प्रतिपक्षको सिट छाडेको छैन् ।
बरु एमालेसँगै रमाइलो मानेर कांग्रेस प्रतिपक्षको सिटमा बसेको छ । कर्णाली प्रदेशमा कांग्रेसको ६ सिट छ । जसमा एक वा दुई जनालाई मुख्यमन्त्री शाहीले आफ्नो सरकारमा मन्त्री बनाउँदैछन् । ६ महिनापछि जीवन शाहीलाई मुख्यमन्त्री दिने माओवादीको सहमति छ ।
यसका लागि कागजी सहमति भएको माओवादीकै नेताहरुको दाबी छ । तर पनि यतिबेला कांग्रेस सत्तापक्षको कुर्सी छाडेर प्रतिपक्ष सिटमा बसिदिएको छ ।
यसले माओवादीका नेताहरुको निन्द्रा हराम भएको छ । यतिसम्मकी केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत चिन्तित बनेका छन् । यतिबेला सरकारमा सहभागि हुन नमानेको काग्रेसले अहिले नै मुख्यमन्त्रीको बार्गेनिङ थालिरहेको छ ।
अहिले मुख्यमन्त्री नदिए कम्तीमा दुई मन्त्रालय रोजेर मन्त्री बनाउनुपर्ने पनि कांग्रेसको माग छ । कांग्रेसले यस्ता माग उठाएपछि कर्णालीका मुख्यमन्त्री शाही चिन्तामा छन् । उनी तत्काल कांग्रेसका माग पूरा गर्ने र ६ महिनासम्म सरकार जोगाउने धाउन्नमा देखिन्छन् ।
‘अहिले मुख्यमन्त्रीज्यूँको ध्यान सरकार जोगाउनमा छ । यसका लागि कांग्रेसलाई दुई मन्त्रालय दिन पनि तयार देखिएका छन्’ मुख्यमन्त्री निकट स्रोतले कर्णाली खबरसँग भन्यो, ‘काग्रेसलाई नफकाउँदा सरकार पनि ढल्ने सम्भावना भएकाले ६ महिना सरकार टिकाउन कांग्रेसले भनेअनुसार मन्त्री दिनुको विकल्प छैन् ।’
मुख्यमन्त्री शाहीले फ्लोर क्रस गरेका चार एमाले सांसदमध्ये तीन जनालाई यसअघि नै मन्त्री बनाएर दोहोर्याएर शपथ समेत खुवाइसकेका छन् ।