सुर्खेत। कर्णाली प्रदेशसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री यामलाल कँडेलप्रति तीव्र रुपमा प्रस्तुत भए। मुख्यमन्त्री कँडेलले दिएको “एक्लो प्रयासले मात्रै केही हुँदैन” भन्ने अभिव्यक्तिलाई लिएर शर्माले संसदमा आक्रोश व्यक्त गरे।
शर्माले कँडेलको भनाइलाई अपमानजनक र गैरजिम्मेवार भन्दै सिङ्गो संसदको मूल्य घटाउने प्रयास भएको टिप्पणी गरे। उनले व्यङ्ग्य गर्दै भने, “के तपाईं लङ्का एक्लै जित्न खोज्नुभएको हो? कि सरकारमा अरु मन्त्रीको उपस्थिति छैन? सत्ता साझेदार दलले समर्थन नगरेको हो?”
सांसद शर्माले मुख्यमन्त्रीको ‘एक्लो प्रयास’को दाबीलाई सरकारको विफलता ढाकछोप गर्ने माध्यमको रुपमा चित्रण गरे। उनले कँडेललाई चुनौति दिँदै सोधे— “कसरी, कहिले, कुन कुरामा प्रतिपक्षीले अवरोध गर्यो? रोजगार सिर्जना, अस्पताल सुधार, पहिरोपीडित सहयोग, वा खेलकुद आयोजनामा प्रतिपक्ष कहाँ अड्कायो?”
उनले सरकारका असफलताका उदाहरण प्रस्तुत गर्दै संवैधानिक निकायमा नियुक्ति नहुनु, चिसापानी लगायतका स्थानमा खेलकुद पूर्वाधार निर्माणको ढिलाइ, रङ्गशालाको भुक्तानी रोकिएको जस्ता कमजोरी औंल्याए। “भुक्तानी रोक्नुमा विपक्षीले बाधा पुर्याएको हो?” भनी उनले मुख्यमन्त्रीमाथि प्रश्न गरे।
शर्माले मुख्यमन्त्रीको एक्लो प्रयास भनेको सत्ता साझेदारको साथ नभएको प्रमाण हो कि भनी प्रश्न गर्दै मन्त्रीहरूको भूमिकामाथि समेत प्रश्न उठाए। उनले कँडेललाई एक्लो नछोड्न सत्तारुढ नेताहरूलाई व्यङ्ग्यात्मक शैलीमा आग्रह गरे।
त्यसैगरी, बजेट प्रक्रिया, कर्मचारी सरुवा–बढुवामा पारदर्शिता नहुनु र ७ बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै मुख्यमन्त्रीको नेतृत्वमाथि प्रश्न उठाए।
शर्माको आक्रामक धारणा र प्रश्नले प्रदेशसभा बैठकमा सत्ता पक्षको नेतृत्व, काम गर्ने शैली र सरकारको कार्यक्षमतामाथि गम्भीर बहस उब्जाएको छ।