दैलेख। सुर्खेतबाट जुम्लाका लागि छुटेको यात्रुवाहक फोर्स गाडी दैलेखको डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकसहित २३ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शुक्रबार बिहान करिब १० बजे दुल्लु नगरपालिका–१ स्थित डुङ्गेश्वर बजार नजिकै उकालोमा रोकिएको गाडी अचानक पछाडि सरेर करिब १५० मिटर तल खसेको हो।
कर्णाली प्रदेश ०२–००१ ज ००४६ नम्बरको उक्त गाडी चालक २५ वर्षीय दया प्रसाद न्यौपाने (वीरेन्द्रनगर–९, सुर्खेत) थिए। गाडी यात्रु झार्ने क्रममा नियन्त्रण गुमाएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर सुनारले जानकारी दिए।
दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा कालिकोट तिला गाउँपालिका–१ का ६५ वर्षीय मानबहादुर जिसी र ३५ वर्षीया मंगली बुढा रहेका छन्। दुवै जनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।
घाइते हुने अन्य यात्रुहरूमध्ये कालिकोटका हिक्मत जिसी (१४), सिता शाही (१६), बिनिता शाही (१४), माया रिजाल (२६), दानबहादुर खत्री (३८), जंगबहादुर रावत (३९), ज्योति रावल (३६) रहेका छन्।
यस्तै, दैलेख आठबिस नगरपालिका–६ का पदम विक (२६), अछाम विनायक नगरपालिका–१ का मट्टी कामी (५८) र कौशी विक (२२), जुम्ला तिला गाउँपालिका–३ का विशाल शाही (२३), वडा ८ का रतन रोकाया (१८), वडा १६ का विशाल शाही (१६), तातोपानी गाउँपालिका–६ का नरेश पराजुली (२५), सुर्खेत भेरीगंगा नगरपालिका–१२ की तुलसा थापा (३२), रामेछाप सुनपाति गाउँपालिका–२ का प्रेम कुमार तामाङ (४०) र ४ वर्षीया मेलीना विक पनि घाइते भएकी छन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक सोनु विकको कमाण्डमा टोली खटिएको थियो। टोलीले घाइतेहरूको उद्धार गरी नजिकैको मेडिकलमा प्रारम्भिक उपचार गराएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ भने अन्यको पनि अवस्थाअनुसार स्थानान्तरणको तयारी भइरहेको छ। अधिकांश घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको जनाइएको छ।