सुर्खेत। दैलेखमा बढ्दो लागुऔषध दुव्र्यसन र कारोबार नियन्त्रण गर्न प्रहरीले व्यापक सचेतनामूलक अभियान चलाएको छ।
असार ६ गतेदेखि सुरु गरिएको साताव्यापी अभियान अन्तर्गत प्रहरीले विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा व्यवसायिक क्षेत्रहरूमा पुगेर विविध कार्यक्रमहरू सञ्चालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालका अनुसार अभियान विद्यार्थी, अभिभावक, औषधि र होटल व्यवसायी तथा सर्वसाधारणलाई लक्षित गरेर सञ्चालन गरिएको हो। “लागुऔषधको जालो प्रहरी मात्रले टुटाउन सक्दैन,” डिएसपी बराल भन्छन्, “यसका लागि सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक छ।”
अभियान अन्तर्गत पर्चा–पम्प्लेट वितरण, होर्डिङ बोर्ड राख्ने, सार्वजनिक स्थानमा जनचेतनामूलक सामग्री प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। साथै, सम्बन्धित संघसंस्थासँग छलफल गर्दै मनोदैहिक औषधिको विक्री वितरण व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।
असार ११ गते “लागुऔषध दुव्र्यसनमुक्त समाजमा युवाको भूमिका” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट चार जनालाई पुरस्कार प्रदान गरिएको थियो। विशेष गरी कक्षा ९ र १० मा अध्ययनरत किशोर-किशोरीलाई लागुऔषधका असर, जोखिम र बच्ने उपायका विषयमा जानकारी दिइएको हो।
कार्यक्रमको समापनमा सहभागी सरोकारवालाहरूले लागुऔषध नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डिएसपी बरालले अभिभावकहरूको भूमिका विशेष रहेको उल्लेख गर्दै भने, “बच्चाहरूको दैनिक गतिविधिमा अभिभावकले निगरानी राख्न सके दुर्व्यसनको सुरुआती चरणमै रोकथाम गर्न सकिन्छ।”
प्रहरीले लागुऔषध सेवन वा कारोबारको जानकारी भएमा जनताबाट सूचनाको अपेक्षा पनि राखेको छ। विद्यालय, क्याम्पसमा सचेतनामूलक कक्षा, अभिभावक संवाद, निगरानी तथा चेकजाँचलगायतका गतिविधिहरूलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
यस्तै, गाँजा र अफिम खेतीमा संलग्नमाथि कानुनी कारबाही गर्ने, राजमार्ग र सवारीसाधनमा कडा निगरानी गर्ने, प्रविधियुक्त चेकजाँच र लागुऔषध प्रयोग पत्ता लगाउने किटको प्रयोगमार्फत अभियानलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी प्रहरीले दिएको छ।