दैलेख। दैलेखको दुल्लू नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
मंगलबार सम्पन्न १७औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख विना कार्कीले नीति, कार्यक्रम र बजेट प्रस्तुतीकरण गर्दै विकास र समृद्धिको आधार तयार पारिने बताइन्।
बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, सिंचाइ तथा खानेपानीको पहुँच विस्तार, ग्रामीण सडक तथा पूर्वाधार निर्माण, समावेशी कार्यक्रमहरू र स्थानीय उत्पादनको प्रवर्द्धन मा केन्द्रित योजनाहरू समेटिएका छन्।
उपप्रमुख कार्कीका अनुसार बजेटले सामाजिक विकासमा आधारित योजना, युवा तथा महिलाका लागि स्वरोजगार कार्यक्रम, सीपमूलक तालिम र सुरक्षित मातृत्व कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ।
नगर प्रमुख भरत प्रसाद रिजालले आगामी वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी, पारदर्शी र दिगो विकासको मार्गचित्र सार्वजनिक गरे। नगरसभाले उक्त नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको हो।
सभामा लेखा समितिका संयोजक रामचन्द्र शर्माले समितिको वार्षिक प्रतिवेदन पनि पेस गरे। बजेट कार्यान्वयनका क्रममा स्थानीयस्तरमा सहकार्य र सहभागिता बढाउने योजना रहेको नगरपालिकाले जनाएको छ।