कर्णाली। टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश विजयी भएको हो ।
शनिबार भएको फाइनल खेलमा मधेशले बागमतीलाई सात विकेटले हराउँदै उपाधि हात पारेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन बनाएको हो । उसका लागि सूर्यांशु कोइरालाले सात बलमा १० रन जोड्दा ४० बलमा प्रसिद्ध जैसी २५ रन जोडेका हुन् ।
अभि थपलियाले २३ बलमा चार रन जोड्नुका साथै जोय थापा छ र शिवशक्ति महतो दुई रनमा आउट भए । त्यसैगरी, रोहित ठाकुरले ४६ बलमा २२ र आशीष गुप्ताले १७ रन जोडेका छन् । बागमतीले यो खेलमा अतिरिक्त २१ रन पाएको छ ।
जवाफी ब्याटिङमा उत्रिएको मधेशका लागि ओपनर आयान मुखियाले ३३ बलमा नटआउट रहँदै २२ र सन्तु मण्डलले २२ बलमा ४३ रन जोडेका छन् । सुशान्त सिंहले १५ बलमा १२ रन, परिमार्जन यादवले चार रन, माही यादवले चार रन जोडेका छन् ।
कर्णालीमा जारी राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा प्रथम हुने मधेश प्रदेशलाई नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले एक लाख २५ हजार राशिको पुरस्कार प्रदान गरे । प्रतियोगितामा ‘प्लेयर अफ दी फाइनल’ मधेशका रोहन यादव, ‘बेष्ट बलर’ मधेशका अभय यादव, ‘बेष्ट ब्याटर’ र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट सङ्घको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा खेल सम्पन्न भएको कर्णाली प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए । जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात प्रदेशका टोलीको सहभागिता थियो ।