काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २०औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।
बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ ।
असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।
महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । खिममायाको भने २० औं एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।
टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औं एसियाडमा सहभागी नहुने भएकी छन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् । महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहने छ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसंग खेल्ने छ ।
ताइपेईं गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेईं भारतसंग समग्रमा १ अंकको अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन् ।
एसियाली खेलकुदमा महिला टोलीको दोश्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।
हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् । हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवराीमा थिइन् ।
महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताए ।