जाजरकोट । 'यदि कोही कसैले एटिएमबाट पैसा निकाल्न खोज्दा त्यहाँ अरु कसैको पैसा भेट्टाउनु भयो भने के गर्नुहुन्छ ?' धेरैले सोच्न सक्छन्, 'पाईयो भने हालौं पकेटमा,' तर दैलेखका एक शिक्षकले उदाहरणीय कार्य गर्दै समाजमा सकारात्मक सन्देश दिएका छन् ।
दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका लैनचौर स्थायी घर भई हाल जाजरकोटको भेरी नगरपालिका–५ स्थित विजय माध्यमिक विद्यालय, काफलचौरमा गणित शिक्षकका रूपमा कार्यरत जगत योगीले एटिएममा भेटिएको नगद रकम सम्बन्धित बैंकमार्फत बुझाएका छन् ।
शनिवार, आफ्नो खाताबाट रकम झिक्न लक्ष्मी सनराइज बैंक एरिचोक सुर्खेतको एटिएम पुगेका योगीले कार्ड झिक्दै गर्दा एटिएममा नगद १० हजार रुपैयाँ भेट्टाए। आसपासमा कोही नभेटिएपछि उनले पैसा सुरक्षित राखे र सम्बन्धित बैंकमा बुझाउने निर्णय गरे ।
तर त्यही दिन शनिवार भएकाले र उनी जाजरकोट फर्कनुपर्ने भएकाले रकम सिधै बैंकमा बुझाउन सकेनन् । भोलिपल्ट बिहान विद्यालय जानु अघिल्लो समयमा नै उनी लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखामा पुगेर आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम बैंकमा बुझाएको बताए । 'कसैले दुःख मेहनत गरेर जोहो गरेको पैसा पनि हुन सक्छ, कसैको महिनौंको पसिना हुन सक्छ भन्ने सोचेर मैले तत्कालै बैंकलाई जिम्मा दिएँ,' शिक्षक योगीले भने ।
उनको यो कार्यले आजको समयमा पनि ईमानदार, नैतिक मूल्यमा आधारित नागरिक समाज निर्माण सम्भव छ भन्ने सन्देश दिएको छ।
लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखाले भेटिएको नगद १० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई बुझाउने प्रक्रिया अघि बढाएको छ । बैंकले उक्त रकम सम्बन्धी दाबी गर्न चाहने सेवाग्राहीले आफूसँग भएको प्रमाणित कागजातसहित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।