देशले पछिल्लो दुई दशकमा धेरै काँचुली फेरेको छ । राजतन्त्रात्मक व्यवस्थाबाट लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ संविधान, संघीयता र स्थानीय सरकारसम्मको विकास खरायोको गतिमा भइरहेकै छ । समय फेरिएसँगै देश विकासोन्मुख देशबाट विकासशील देशका रुपमा अगाडि बढिरहेको छ ।
तर देशले जतिसूकै काँचुली फेरेपनि व्यवस्थाअनुसारको अवस्था प्राप्तिका लागि नागरिकको भुईपताल दौडधुप जारी छ । हिजो व्यवस्था परिवर्तनका लागि कर्णालीको जनताको रगत बलिदान चढाएका नेताहरुले आज कर्णाली प्रदेशको नाम राख्न र माग्नका लागि नागरिककै रगतको बली चढाएर सत्ताको कुर्सीमा निदाइरहेका छन् ।
एक समय थियो, नेताहरुले ज–जसलाई हिजो देखाएर परिवर्तनको लोभ देखाए, आज उनैलाई फेरि देखाएर वा भजाएर सरकारी ढुकुटीमाथि रजाई गरेर भ्रष्टाचारको खालमा आहाल बसिरहेका छन् । अनि जनतालाई फेरि झुटको पुलिन्दा बनाएर भन्दैछन्, ‘हामी सुखी नेपाली, समृद्ध नेपाल बनाउँदैछोँ ।’
यी यावत प्रश्नहरु हामीले विगत तीन वर्षमा धेरैभन्दा धेरै सत्तामा रहेका दल र दलका नेताहरुसमक्ष गरेका थियौँ । हाम्रो प्रकाशनबाट गरिने प्रश्नहरुसँग सत्ताको बागडोर सम्हालेका जिम्मेवार नेतादेखि दलको झण्डामा राज्यको दोहन गरिरहेका कार्यकर्तासँग पनि निरन्तर गरिरह्यौँ ।
जसको सुरुवात हामीले कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पहिलो उपसभामुख पुष्पा घर्तीदेखि तत्कालीन मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति डा.नन्द सिंह लगायतलाई राखेर कर्णालीखबर डटकमको औपचारिक सुरुवात गरेका थियौँ ।
हामी कर्णालीमा केवल प्रश्न गर्न मात्रै आएका थिएनौँ । कर्णालीको सम्भावना खोज्ने, त्यसको सम्भाव्यता अध्ययनमा सघाउने, कतिपय सम्भाव्यताको गहिराईमै पुगेर सोधखोज गर्दै समीक्षा गर्ने र सोहीअनुसार सरकार तथा नागरिक समाजलाई जिम्मेवार बनाउन निरन्तर आलोचनात्मक तथा रचनात्मक प्रश्नहरु गरिरहने हाम्रो मूल दायित्व थियो । तर सूचना प्रविधिको माध्यमबाट कर्णालीखबरको ब्राउजमा यी प्रश्नहरु गर्दैगर्दा हाम्रा पाइलाहरु शिथिल भए ।
तर पनि कर्णालीमा संघीयतादेखि जनप्रतिनिधिको संघर्षको प्रश्न जिवित राख्न ‘कर्णाली विकास मञ्च’ कार्यक्रमकै स्थापना गरेर बहस सिर्जना गर्यौ । त्यो कर्णाली विकासको लागि साझा बहस थलोका रुपमा स्थापित गर्ने हाम्रो उद्धेश्य थियो । तर त्यो प्रक्रियाभित्रको सरकारी रवैयाले हामीलाई धेरैपटक विक्षिप्त बनायो । हाम्रा पाइलाहरु धेरैपटक रोकिए । तर पनि हाम्रो कर्तव्यलाई हामीले रोकेनौँ ।
कर्णालीमा आलोचनात्मक टिप्पणी गर्नेमात्र होइन, रचनात्मक तथा सिर्जनात्मक कर्म गरिरहेकाहरुको सहयोगी बन्न त्यस्ता पात्रहरुसँग उभिने निर्णय गर्यौ । फलस्वरुप ‘कर्णाली १००’ श्रृङ्खलाको सुरुवात गर्यौ । कर्णालीमा सामाजिक र ऐतिहासिक काम गरिरहेकाहरुलाई प्रोत्साहन, सम्मान र सहयोगीका रुपमा सुरक्षित इतिहास राख्न पनि यो श्रृङ्खलाको आवश्यकता महसुस गरेर सुरुवात गरेका थियौँ ।
तर हाम्रो सोच र योजनाअनुसार हामीले त्यसलाई पूर्णता दिन सकेनौँ । नेपालमै पहिलोपटक आफ्नो कर्ममा रमाएकाहरुको इतिहास सुरक्षित राख्न र सामाजिक योगदानलाई प्रोत्साहन गर्नका लागि 'कर्णालीका १०० व्यक्तित्व'को खोजी सुरु गरेका थियौँ । तर अपसोच भनौँ, हामीले त्यसलाई पूर्णता दिने प्रयास गर्दै गर्दा हाम्रो प्राविधिक, आर्थिक र व्यवस्थापकीय समस्याका कारण बीचमै रोक्नुपर्यो ।
हाम्रो प्रकाशन रोकिँदा त्यो काम मात्रै रोकिएन, कर्णालीमा निरन्तर प्रश्न सोध्ने हाम्रो प्रयास र जिम्मेवारीमै ठूलो आँच आयो । त्यसलाई हामीले हाम्रो पत्रकारिता यात्रा र प्रोत्साहित सामाजिक कर्मको सबैभन्दा ठूलो पाठका रुपमा लिएका छौँ । यसबीचमा हामीले कर्णालीमा जनप्रतिनिधि र नागरिक एकसाथ राखेर कर्णालीमा विकास र संघीयताको समीक्षा गर्ने कार्यक्रमलाई शानदार सुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन सकेनौँ । त्यो हाम्रो यात्राको अर्को महत्वपूर्ण सिकाई रह्यो ।
त्यसैले कर्णालीमा जिम्मेवार सरकारको गैरजिम्मेवारीपन र नागरिक अधिकारको रक्षा गर्न खरो प्रश्न गर्ने हाम्रो उद्धेश्य हुँदाहुँदै पनि यो पाँच वर्षभित्रमा हामी आफैँमाथि पनि पेचिलो प्रश्न खडा भयो । यो पेचिलो प्रश्नको सामना गर्दै हामी दुईवर्षपछि फेरि नयाँ पेचिलो प्रश्न लिएर उभिएका छौँ । जहाँ प्रश्नको उत्तर मात्रै होइन, कर्णालीमा सरकार र नागरिकलाई उत्तरदायी बनाउने जिम्मेवारीमा हामीमा पनि रहेको आत्मबोध गरेका छौँ ।
पाँच वर्षअगाडि बैशाख ३१ गतेकै मध्यरात अर्थात आजकै दिन कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा काठमाडौँको बन्द कोठाबाट हामीले कर्णाली नियाल्ने आँखीझ्यालका रुपमा ‘कर्णालीखबर’को यात्रा आरम्भ गरेका थियौँ । अनौपचारिक रुपमा झण्डै पाँच महिनाको परीक्षणपछि हामीले असोज १९ गते सुर्खेतमा कार्यक्रम गरेर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट कर्णालीखबर डटकमको औपचारिक उद्घाटन गरेका थियौँ ।
त्यो यात्रा निकै ठूलो उतारचढावका बीच हामीले तीन वर्ष प्रभावकारी रुपमा अगाडि बढायौँ । औपचारिक यात्राको पहिलो वार्षिकोत्सवमा हामीले ‘कर्णालीका १०० व्यक्तित्व’ सूचि सार्वजनिक गर्ने योजना बनाइरहँदा हामी प्राविधिक र व्यवस्थापकीय समस्याले रोकिन पुग्यौँ । तर पाँच वर्षपछि आजकै दिन फेरि हामी कर्णालीखबर डटकमको पुनःप्रकाशकीय लेख्दैछौँ । यसपटक पनि हामी झण्डै दुई महिना लामो पुनः परीक्षण समय व्यतित गरेर तपाईहरुमाझ आइपुगेका हौँ । तर हामीले भन्नैपर्छ, यो बाध्यतापूर्ण दुई वर्षको विश्राम र व्यवस्थापकीय समस्या हाम्रा लागि निकै पीडादायी रह्यो ।
दोभान मल्टिमिडिया र कर्णालीखबर डटकमको सहयात्रामा जोडिएका सरोकारवाला र सम्बन्धित व्यक्तित्वको कारण हामी फेरि जोडिएका छौँ । हामी हाम्रो टिम अझ धेरै सशक्त बनाएर फराकिलो सोच र योजनाका साथ फेरि आएका छौँ । हामीले निकै ठूलो महत्वाकांक्षाका साथ सुरु गरेको कर्णालीका १०० व्यक्तित्वको सूचि पुनःप्रकाशकीयको केही दिनमा सार्वजनिक गर्दैछौँ ।
कर्णालीका १०० व्यक्तित्व सूचि सार्वजनिक गरेपछि आउँदो असोज १९ गते हामी कर्णाली हिरो घोषणा गर्नेछौँ । जसको छनौट प्रक्रिया नै हामीले व्यवस्थित र महत्वपूर्ण बनाउने प्रयास गरिरहेका छौँ । यसका साथै अन्य थुप्रै श्रृङ्खला र नयाँ नयाँ खोजी तथा प्रोत्साहनका कार्यक्रमहरु ल्याउनेछौँ । हामी कर्णालीको काँचुली फेर्न सबैभन्दा पहिले आफैँ जिम्मेवार हुन सिक्ने बाटो बनाउन चाहन्छौँ । जहाँ अरुलाई दोष दिएर मात्रै होइन, आफ्ना हरेक पाइलाहरु गतिशिल र प्रगतिशिल बनाउन आफै जिम्मेवार र संयमित भएर अगाडि बढ्नुपर्ने विषयलाई गम्भीरताका साथ उठाउन खोजिरहेका छौँ ।
यसका लागि हाम्रो यात्राको दोस्रो 'इनिङ' सुरुवात भएको जानकारी गराउन चाहन्छौँ । अब हाम्रा सोच, योजना र कार्यक्रम कुनै हालतमा पूरा गर्ने प्रतिबद्धता गर्न चाहन्छौँ । साथै कर्णालीका हरेक नागरिकका दुःख र पीडाको सबैभन्दा महत्वपूर्ण सहयोगी रहनेमा हामी विश्वस्त छौँ ।
विगतजस्तै फेरिदो समयसँगै हामी तपाईको साथ सहयोग लिएर नयाँ यात्रालाई विशेष बनाउन जति आतुर छौँ, त्यत्तिकै उत्साहित छौँ । यसका लागि तपाईको साथ सहयोगको अपेक्षा पनि गरिरहेका छौँ ।
यो ‘सेकेन्ड इनिङ’मा हामी स्पष्ट गर्न चाहन्छौँ, हाम्रो उद्धेश्य नाफा होइन । पत्रकारिताभित्रको व्यवसायिक धर्म पहिलो प्राथमिकता हो । हाम्रो प्रश्न राज्यका हरेक जिम्मेवार निकाय र तिनका प्रमुख तथा प्रतिनिधिमाथि हुनेछ ।
हामी विगतमा निकै धेरै उदार हुँदा हाम्रो व्यवस्थापकीय पाटो अत्यन्तै कमजोर भएर गहिरो धरातलमा भासिएको कुरा राम्रोसँग महसुस भएको छ । त्यसैले हामी यसपटक हामी आर्थिक र व्यवसायिक पाटोलाई मजबुत बनाउन सबैसँग सहकार्यको आवश्यकता र अपरिहार्यता अगाडि बढाउनेछौँ ।
आशा छ, कर्णाली विकास, सम्भावना र सहयात्राको यो बाटोमा तपाई र हाम्रो हातेमालो दिगो तथा सार्थक हुँदै जानेछ ।