नाम : हिमाल राजी
पेशा : शिक्षण तथा समाजसेवा
कर्णाली व्यक्तित्व नं. : ९
भनिन्छ, मानव सभ्यताको सुरुवात खोला तथा नदी किनाराबाट भएको थियो । अर्थात आदिमकालमा जति पनि मानिसहरुले बसोबास गरेका छन्, त्यो प्राय, नदी, खोला वा पानीको स्रोत भएको ठाउँमा नै थियो ।
मिश्रदेखि पछिल्लो सिन्धुघाँटीको सभ्यतासँग नदी वा पानीको स्रोत जोडिएकै छ । नेपालमा भने पानीको स्रोत वा नदी तथा खोला किनारामा आश्रित भएर जिविकोपार्जनसँगै मानवसेवा गरिरहेको एक मात्रै समुदाय हो, राजी समुदाय ।
जसले वर्षौदेखि आफ्नो थलो र सामुदायिक बस्ती नै खोला किनारामा जोड्दै आएको छ । पानीको स्रोतको संरक्षण, त्यसको उपभोग र पानीका कारण प्रभावित मानिसहरुको जनजीवनलाई सहज पार्ने मुख्य दायित्व राजी समुदाय निर्वाह गर्दै आएको छ ।
तर यतिले मात्रै राजी समुदायको उत्थान भएको देखिदैन । परम्परागत रुपमा आफ्नो बलबुताले भ्याएसम्म जिविकोपार्जन गरिरहेका राजी समुदाय विस्तारै खोला किनाराका बस्तीबाट उठेर अरु समुदायसरह राज्य अन्य निकायमा पनि प्रतिनिधित्व गरिरहेका छन् ।
जसको ज्वलन्त उदाहरण हुन्, हिमाल राजी । चौकुने गाउँपालिका ९ घाटगाउँको कर्णाली नदी नजिकै बस्तीमा एकसाथ बसिरहेका राजी समुदायको मुख्य पेशा माछा मार्ने थियो । तर हिमाल राजीले आफ्ना पुर्खाको त्यो पेशालाई सम्मान गर्दै उनले सानैदेखि स्कुल पढे । स्कुल पढेपछि उनले उच्च शिक्षा पनि राम्रोसँग पढ्ने अवसर पाए ।
त्यसपछि उनले अन्य समुदायका व्यक्तिसरह काम गर्न थालेभने राजी समुदायको हित र अधिकार प्राप्तिका लागि राज्यका हरेक निकायसँग समन्वय पनि बढाउन थाले । जसकारण आज कम्तीमा चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका सबैजसो राजी समुदायका बालबालिका आधारभूत शिक्षा पढिरहेका छन् ।
अनि उनीहरुको क्षमता र रुचिअनुसार अवसरका ढोकाहरु पनि खुल्दै गएका छन् । आज कोही सरकारी जागिरे छन्, कोही सुरक्षा क्षेत्रमा छन भने धेरैजसो सरकारी तथा गैरसरकारी संघ संस्थामा सक्रिय छन् ।

जसको नेतृत्व हिमाल राजीले गर्दै आएका छन् । हिजोका दिनमा राजी समुदायलाई अल्पसंख्यक भन्दै अधिकारबाट बञ्चित गर्ने जो कोही पनि आज हिमाल राजीको नाम सुन्नेबित्तिकै अधिकार उनीहरु पनि समान रुपमा वितरण गर्नुपर्छ भन्ने अवस्थामा पुगेका छन् ।
अन्याय, अत्याचार र अधिकारबाट बञ्चित गर्ने विगतको सरकारी रवैया कम्तीमा आज राजी समुदायका लागि मञ्जुर छैन । जसको नेतृत्व गर्दै राजी समुदायले पनि राज्यबाट अधिकार र सहुलियत पाउनुपर्छ भन्ने लडाईमा हिमाल राजी हारेका छैनन् ।
उनी आफैँले पनि विगतमा आफू पढेकै घाटगाउँको सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराइसकेका छन् । केही समय शिक्षण पेशामा सक्रिय भएका उनी पछिल्लो समय विभिन्न गैरसरकारी संघ संस्थामा काम गरिरहेका छन् ।
राजी समुदायको आधुनिक जीवनयापन र राज्यबाट पाउनुपर्ने आधारभूत अधिकार तथा सहयोगमा हिमाल राजीको मुख्य योगदान छ । सोही कारण राजी समुदायका बालबालिका आज आधाुनिक युगमा सबै सम्भव अवसरले आफ्नो जीवन अगाडि बढाउन सफल भइरहेका छन् ।
राजी समुदायको आधुनिक उडान उनीहरुको सफल र सुझबुझपूर्ण नेतृत्व गरिरहेका हिमाल राजी एक त्यस्ता पाइलट हुन्, जसले अबको केही दशकमा राजी समुदाय अन्य समुदायभन्दा धेरै अगाडि बढेको प्रत्यक्ष देख्न पाइनेछ ।