नाम : शर्मिला बिसी
पेशा : मनोपरामर्शकर्ता, सामाजिक अभियान्ता
कर्णाली व्यक्तित्व नं. : १३
भनिन्छ, रोग लागे उपचार गर्न सकिन्छ । निको पार्न पनि सकिन्छ । तर मनको रोग लागे उपचार गर्न गाह्रो छ । निको पार्न झनै गाह्रो छ । त्यसैले सास रहेको मात्रै जीवन होइन, सास भएर पनि लास भइरहेको जीवनलाई मानसिक, शारीरिक र सामाजिक रुपमा स्वस्थ्य राख्नुलाई अब जीवन भन्न थालिएको छ ।
त्यसका लागि सास बचाउन सक्ने डाक्टर वा चिकित्सक मात्रै होइनन, समाजमा टाउको उठाएर हिड्ने र आफ्नो मनोबल तथा आत्मविश्वास बलियो बनाएर बाँच्न सिकाउने मनोमरामर्शकर्तालाई पनि जीवनदाता भन्न सक्नुपर्छ ।
कर्णालीमा यसको ज्वलन्त उदाहरण हुन्, शर्मिला बिसी । सुर्खेत गुर्भाकोट नगरपालिका ८ मेहेलकुनाकी बिसीले हजारौँलाई यस्तो परामर्श दिएकी छन्, जसले मृत्युको मुखमा पुगेका धेरैलाई समाजमा टाउको उठाएर हिड्ने हिम्मत दिएको छ ।
खासगरी महिला र बालबालिकाका लागि उनी नयाँ जीवनदाताका रुपमा प्रस्तुत हुँदै आएकी छन् । कर्णालीजस्तो दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य र मनोमरामर्शकर्ता पेशा नयाँ मानिन्छ । तर नयाँ क्षेत्रमा झन् धेरै अवसर हुन्छ भन्ने भनाईलाई शर्मिलाले यतार्थमा परिणत गरेकी छन् । जसले उनलाई सानो बेला देखेको ठूलो सपनाभन्दा आफूले गर्दा अरुको जीवन थोरै भएपनि सहज रुपमा जिउन सहयोग पुगेकोमा धेरै आभारी बनाएको छ ।
स्कुलमा बालक्लबबाट सिकेको सामाजिक एकता र भावना एक अर्कामा आदान प्रदान गर्ने उत्सुक क्षमताले आज उनलाई एक सक्रिय र प्रभावशाली मनोमरामर्शकर्ताका रुपमा परिचय दिएको हो । स्थानीय बालक्लबबाट, इलाका बालमञ्च हुँदै जिल्ला बाल मञ्चको सदस्य बनेकी उनले त्यहीबाट आफूलाई फरक क्षमता र नेतृत्वका रुपमा उभ्याएकी हुन् ।
त्यसपछि उनको त्यो उदाँउदो क्षमता देखेर महिला र बालबालिकाका क्षेत्रमा काम गरिरहेको संस्था आवाजले नयाँ जिम्मेवारी दियो । सामाजिक रुपमा विभिन्न हिंसा वा समस्याबाट गुज्रिरहेका महिला तथा बालबालिकालाई मनोपरामर्श दिएर सामान्य अवस्थामा फर्काउने जिम्मेवारी उनले जसरी निर्वाह गरिन् । त्यसले ती पीडितलाई मात्रै होइन, सामाजिक रुपमा ठूलो प्रभाव ल्यायो ।

त्यसपछि उनले आवाज संस्थाको कार्यक्षेत्र र प्रभाव क्षेत्र बढाइन् । जसले कर्णालीको सुर्खेतबाट उनको क्षमता र मनोपरामर्श प्रभाव बढेर कर्णालीका अरु जिल्लासम्म पुग्यो । त्यहीबीचमा कोरोना भाइरसको महामारी आयो । उनले त्यो संकटको घडीमा मानिसहरुको मनमा शक्ति भरिन् ।
उनीहरुको कुरा सुनिन् । पीडा पोखाइन् । पीडा कम गर्ने औषधि आफैँ बनिन् । पीडा सुनेपछि पीडाबाट बाहिर आउने बाटो सुझाइन् । जसले उनलेको भनेको गर्दै गए । जीवन सहज रुपमा जिउन थालेको बताउन थाले । त्यसले एक दुई जना होइन, सयौँबाट हजारौँ प्रभावित हुँदै गए । अनि उनको क्षेत्र र जिम्मेवारीको दायरा बढ्यो ।
कोरोनापछि कर्णालीमा बाढी आयो । भूकम्प आयो । महामारी, बाढी र भुकम्पमा पनि उनले मानसिक रुपमा प्रताडित भएकालाई परामर्श दिइन् । पछिल्लो समय युवाहरुमा सामाजिक सञ्जालको लत मात्रै होइन, कुलत, दुव्यर्सनी र फेरिएको सामाजिक व्यवहार र बनावटको पनि उपाय सुल्झाउन सक्ने क्षमतावान मनोपरामर्शकर्ताका रुपमा उनले आफूलाई उभ्याएकी छन् । उनले आफूलाई निखारेसँगै जिम्मेवारीको भ¥याङ पनि उकालो लाग्दै गएको छ । आवाज संस्थामा लामो समय काम गरेकी उनी पछिल्लो समय बर्दिया कार्यक्षेत्र बनाएर काम गरिन् । त्यसपछि उनी कोपिला भ्याली स्कुलमा पनि मनोपरामर्शकर्ताका रुपमा सक्रिय रहिन् ।
कर्णालीको उनको प्रभाव बढेपछि उनी अहिले टिपीओ नेपालमा कार्यरत छन् । टिपिओ नेपालले मानसिक स्वास्थ्य र त्यसमा पनि सबैतिरबाट निराश भएर जीवनको अस्तित्व नै सकिएको ठानेर आत्महत्याको अवस्थामा पुगेका गम्भीर प्रकृतिका कतिपय मानिसहरुलाई निःशुल्क सेवा दिँदै आएको छ ।
मृत्युको मुखबाट बचाउने व्यक्ति र संस्थाहरुको समीपमा रहेर उनले धेरै मानिसहरुको जीवनलाई अर्थपूर्ण बनाएकी छन् ।
आफ्नै कारणले वा अरुको कारणले धरापमा परेको धेरैको जीवनलाई उनले पहिलेकै अवस्थामा सहज बनाउन प्रमुख भूमिका खेलेकी छन् । उनको बढ्दो प्रभाव र मानिसहरुमा पारेको गहिरो छापलाई मूल्यांकन गरेर अनलाइनखबर डटकमले उनलाई २०८० सालको ५० प्रभावशाली महिलाहरुको सूचिमा समावेश गरेको थियो ।