नाम : अनिल ढकाल
योग्यता : स्नातक
कर्णाली व्यक्तित्व नं. : ३३
एक स्वतन्त्र व्यक्ति कसरी परिवर्तनको संवाहक बन्छ ? भन्ने सत्य उदाहरण अहिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई हेरे हुन्छ । जो विगतमा कुनै राजनीतिक पार्टीमा थिएनन् । कुनै परिवर्तनकारी युवा समूहमा पनि थिएनन् ।
उनी गायक थिए, त्यो पनि युरोप अमेरिकामा चर्चित र्याप विधाको । नेपालमा धेरैले यो विधा उति साह्रो बुझ्दैनन् । तर आफ्नै धुनमा र्याप गीत गाउने बालेन पेशाले इन्जिनियर थिए । तर राजनीतिक दल र पार्टीका नेताहरुको मनलाग्दीले ज्वरो नै निकालेपछि बालेन काठमाडौँमा स्वतन्त्र रुपमा मेयर चुनाव लडे ।
पेशाले कलाकार रहेका उनलाई सयौँ कलाकार र हजारौ इन्जिनियरहरुले साथ दिए । खासगरी काठमाडौँमा पढेलेखेका, केही बुझेका र परिवर्तन चाहेका युवा तथा मतदाताले साथ दिँदा बालेनले कसैले नसोचेको मत ल्याएर चुनाव जिते ।
चुनाव जितेपछि मिडिया र ठूलो तामझामबाट टाढै रहेका बालेन अहिले फेसबुक स्टाट्सबाटै नेपालको राजनीति नै तरंगित गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वका हिसाबले पुरै काठमाडौँको कोर एरियामा एकपछि अर्को सुधार तथा विकास गरिरहेका बालेन पछिल्लो समय युवाका ढुकढुकी र परिवर्तनका संवाहक हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि बालेनकै जति सम्भावना बोकेका स्वतन्त्र युवा अनिल ढकाल छन् । जसले व्यक्तिगत रुपमा सोच, सामथ्र्य र परिवर्तनको योजना राखेमा सुर्खेतको मुहार फेर्न सक्छन् ।
बालेन ¥यापर भएजस्तै अनिल सामाजिक रुपमा निकै ‘एग्रेसिभ’ अभियान्ता हुन् । उनीसँग समाजमा जबर्जस्ती परिवर्तन चाहने युवाहरुको राम्रो समूह छ । जसलाई उनले फेसबुकमा ‘मोटे ग्याङ नेपाल’ पेज राखेर सञ्चालन गरिरहेका छन् ।

सुर्खेत र आसपासका घटनाक्रम निकै तीव्र गतिमा अपडेट गरिरहने उनी कर्णाली डिजिटल अनलाइन मिडियाभन्दा पनि अगाडि छन् । कतिपय कार्यक्रम र घटनाक्रमलाई उनको पेजले मिडियाले भन्दा राम्रो कभरेज दिइरहेको छ ।
एक लाख बढी फ्लोअर्स भएको पेजमा उनले समाजमा भए गरेका घटनाक्रमलाई जोडेर विश्लेषणत्मक सन्देश पनि दिइरहेका हुन्छन् । जसले राम्रो लाइक, कमेन्ट र भ्युज पाइरहेको छ । कर्णालीको राजनीतिक खिचातानी र पार्टी प्रवृत्तिविरुद्ध तिखो टिप्पणी पनि उनले फेसबुक पेजमार्फत पनि गरिरहेका हुन्छन् ।
उनले सामाजिक अभियान्ताका रुपमा बनाएको त्यो छविलाई विस्तारै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा विस्तार गर्ने योजना बनाएका थिए । तर पहिलो प्रयास उनको सफल भएन । उनले मेयर पदको चुनाव प्रचार गरेर अन्तत उपमेयर पदमा प्रतिष्पर्धा गरेपछि पनि धेरै पछाडि परेका हुन् ।
केही पढेलेखेका, परिवर्तनको हुटहुटी भएका, युवा मन र योजना भएका तथा समाजमा केही न केही गर्नुपर्छ भन्ने सोचले परिचालित भएका उनीसँग साच्चै केही राम्रो गर्न सक्ने क्षमता छ । यदि उनले त्यसलाई सही ढंगमा प्रयोग गर्न सके मतदातामाझ बुझाउन सकेको खण्डमा सुर्खेतका बालेन बन्न सक्ने सम्भावना बोकेका छन् ।