सुर्खेत । मुगु जिल्लाको सोरु गाउँपालिकामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
शहीदगेटदेखि कोटसम्मको सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी २३ लाख २२ हजार ८३२ रुपैयाँ १६ पैसा हिनामिना गरेको अख्तियारको आरोप छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित कुल ४३ लाख ९५ हजार २ रुपैयाँ लागत अनुमानको यस योजनामा विभिन्न अनियमितता पाइएको छ। उपभोक्ता समिति गठनपूर्व नै योजना सम्झौता गरी कार्यादेश दिइएको, स्वीकृत लागत अनुमानबमोजिम कार्य नभएको, र स्थलगत नापजाँच नगरी कम कामलाई बढी देखाएर कार्य सम्पन्न प्रतिवेदन तयार पारिएको अनुसन्धानबाट खुलेको छ।
विशेष अदालतमा मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सब-इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमी, सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र वडा नं. १० का तत्कालीन कार्यवाहक वडाध्यक्ष विरेन्द्रबहादुर मल्ल रहेका छन्।
नापी किताबमा ६६२३.८ घनमिटर काम उल्लेख भए पनि स्थलगत प्रतिवेदनमा ३११३।०३ घनमिटर मात्र काम सम्पन्न भएको देखिएको छ। यसरी प्रतिवादीहरूले ३५१०.७५ घनमिटर बढी काम भएको भनी नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा उल्लेख गरेको अख्तियारले जनाएको छ।
योजना अनुगमन तथा मूल्याङ्कन समितिले पनि विवरण नै नभरी भुक्तानीका लागि सिफारिस गरेको र सोही आधारमा वास्तविक कामभन्दा २३ लाख २२ हजार ८३२ रुपैयाँ १६ पैसा बढी भुक्तानी दिइएको आयोगले जनाएको छ।