काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले नेपालमा शिक्षालाई सामान्य र महत्वहीन रूपमा लिने सोच नै आजको राष्ट्रिय अव्यवस्थाको जरो भएको टिप्पणी गरेका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित ‘विद्यालय शिक्षामा लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्च सम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले राज्यको प्राथमिकता शिक्षातर्फ नहुनु, लगानीको अभाव, र सोचमा संकीर्णता भएको बताएका हुन् ।
“हामीले शिक्षा केही होइन भन्ने बुझेकाले देश आज यो अवस्थामा पुगेको हो,” उनले भने, “शिक्षालाई ज्ञानमूलक, सीपमूलक र उत्पादनमुखी बनाइएन भने समृद्धिको सपना साकार असम्भव जस्तै हो ।”

उनले राज्यका अन्य पूर्वाधार निर्माणमा देखिएको खर्चको ‘फेसन कल्चर’को आलोचना गर्दै भने, “११–१२ किलोमिटरको दूरीमा राजमार्ग बनाउने तर गाडी गुड्दैनन्, अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछौं तर जहाज उड्दैन। शिक्षामा लगानी गर्नुपर्छ भन्ने चेतना नै छैन। अनि कसरी हुन्छ देशको प्रगति ?”
सभापति थापाले उत्पादनमूलक शिक्षा प्रणालीमार्फत नागरिकलाई सक्षम र आत्मनिर्भर बनाउने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए । “सुरुमा राष्ट्रलाई उत्पादनमुखी बनाउनुपर्छ, ढुकुटी बलियो बनाएपछि मात्र शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा परिणाममुखी काम सम्भव हुन्छ,” उनले भने ।
