नाम : भरतबन्धु थापा
पेशा : फोटो पत्रकारिता
कर्णाली व्यक्तित्व नं. : ४९
एक समय थियो, कर्णालीमा अभाव बिक्थ्यो । गरीबी बेचिन्थ्यो । कर्णालीको अभाव, गरीबी, अशिक्षा र बेरोजगारी समस्याका पाना पाना पल्टाएर लाखौँ करोडौँ डलरमा बेचियो ।
काठमाडौँ सरकारले कर्णालीलाई धेरै परको भूगोल ठान्दा गैरसरकारी संघ संस्थाहरुले रजाई गरे । अनि कर्णालीलाई एक गरिब प्रदेश मात्रै होइन, सँधै अभावमा बाचिरहेको प्रदेशका रुपमा अथ्याईरहे ।
तर भरतबन्धु थापा एउटा त्यस्ता फोटोपत्रकार हुन्, जसले पहिलोपटक कर्णालीको भौगोलिक सुन्दरता, कर्णालीको परिचय बदल्ने फोटो खिचेर काठमाडौँलाई देखाए । स्वर्गकी अप्सरा रारा ताल, नेपालको सबैभन्दा गहिरो ताल शे–फोक्सुन्डो ताल लगायतका फोटो खिचेर कर्णालीको सुन्दरता काठमाडौँमा प्रदर्शन गरेर देखाए ।
जसका कारण आजका नयाँ पुस्ताले कर्णालीको गरीबी र अभाव होइन, कर्णालीको सुन्दरता र लाखौँ पर्यटन सम्भावना उजागर गरिरहेका छन् । जसको सुरुवात दैलेख पुख्र्यौली घर भएका फोटो पत्रकार भरतबन्ध थापाले गरेका थिए ।

उनले फोटोमा कर्णाली, कर्णालीका पर्यटकीय गन्तव्य लगायतका पुस्तक निकालेर पनि कर्णालीको निरन्तर एक्सप्लोर गरिरहेका छन् । कर्णालीका राउटे समुदायदेखि कर्णालीको जनजीवनलाई राष्ट्रिय मिडियामा छापिरहने व्यक्तित्व थापा हुन् ।
उनकै कारण आज कर्णालीको रारा ताल, शे–फोक्सुन्डो ताल, पचाल झरना, जुम्लाको सिँजा भ्याली, दैलेखको ज्वाला, सुर्खेतको काँक्रेविहार, देउतीबज्यै मन्दिर, बुलबुले ताल, घण्टाघर, दैलेखको पञ्चदेवल, पञ्चकोशी, पादुका लगायत नेपालकै चर्चित पर्यटकीय गन्तव्यमा समेटिएका छन् ।
पछिल्लो समय काठमाडौँमा कर्णाली, फोटोमा कर्णाली, कनेक्टिङ कर्णालीदेखि पशुपतिनाथदेखि पञ्चकोशीसम्म लगायत अभियान चलाएर पनि थापाले कर्णालीको अनवरत एक्सप्लोर गरिरहेका छन् । काठमाडौँमा बसेर पनि सँधै कर्णालीको पक्षमा एकत्रित भएर एक्सप्लोरमा होमिएका भरतबन्धु थापालाई हामीले कर्णालीका १०० व्यक्तित्व सूचिमा समेटेका छौँ ।