दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दैलेखको विकास र समृद्धिका लागि राजनीतिक दलहरूबीच देखिएको एकता उदाहरणीय भएको बताएका छन्।
माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी हुँदै अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अब माओवादीको मात्र नभई सबै दलहरूको साझा अभियान बनेको उल्लेख गरे । “यहाँ उठेका माग र सुझावहरूलाई राष्ट्रिय स्तरमा सशक्त ढंगले प्रस्तुत गरिनेछ,” उनले बताए ।
कार्यक्रममा दैलेखमा सक्रिय राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघलगायत सरोकारवालाहरूले जिल्लाको पूर्वाधार, पर्यटन, उद्योग प्रवर्द्धन र रोजगारीका विषयमा धारणा प्रस्तुत गरेका थिए। उद्योग वाणिज्य संघ, दैलेखले अध्यक्ष प्रचण्डलाई जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र पनि बुझाएको थियो ।
अध्यक्ष प्रचण्डले करिब १२५ किलोमिटर मध्यपहाडी लोकमार्ग दैलेख भएर जाने जानकारी दिँदै उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग र हुलाकी मार्गलाई आर्थिक गतिविधि विस्तार र व्यवस्थित शहरीकरणको माध्यमका रूपमा अघि सारिएको उल्लेख गरे ।
“मध्यपहाडी लोकमार्ग बसाइसराइ न्यूनीकरण, पहाडमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धनको लक्ष्यले ल्याइएको हो,” उनले भने, “तर वैदेशिक रोजगारी र बसाइसराइको प्रवृत्ति यथावत् रहनु चिन्ताको विषय हो ।”
उनले दैलेख पेट्रोलियम खानीको सम्भावनाबारे पनि उल्लेख गर्दै माओवादी नेतृत्वको सरकारको पालामा नै अन्वेषणको थालनी भएकोमा गर्व व्यक्त गरे। “अनुसन्धानका लागि नमुना चीन पठाइएको जानकारी पाएको छु,” उनले भने, “यसबारे थप जानकारी लिन काठमाडौँ फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु।”