नाम : बुद्धिसागर
पेशा : साहित्य (उपन्यास)
कर्णाली व्यक्तित्व नं. : ६१
नेपाली साहित्यमा एउटा भीमकाय नाम बनेको छ, बुद्धिसागर । जो एउटै उपन्यासबाट चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार बने । कर्णाली ब्लुज उपन्यास लेखेर उनले राष्ट्रिय साहित्यकार बनेर अन्तर्राष्ट्रिय रुपमा पनि ख्याती कमाउन सफल भएका छन् ।
कैलालीको लम्की अर्थात त्यतिबेलाको कटासे बजारबाट हिँडेरै कालिकोटको मान्म बजार पुगेको हटारु यात्रा लेखेर ‘कर्णाली ब्लुज’ नाम दिएर उपन्यास प्रकाशित गरेपछि बुद्धिसागर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार बनेका हुन् । कर्णालीको नुन, सुन र गुण (विशेषता)को कथा बोकेको पुस्तक हो, कर्णाली ब्लुज । जसले कर्णालीको हिडाई लेखेरै राष्ट्रिय साहित्यकारको ओजिलो नाम बनाए ।
उनको कर्णाली ब्लुज उपन्यासलाई नेपाली भाषामा पीएचडी गरेका बेलायती अध्येता माइकल हटले अंग्रेजी संस्करणमा अनुवाद तथा प्रकाशित गरेपछि बुद्धिसागरको अन्तर्राष्ट्रियस्तरमा चर्चा बढेको हो ।
कर्णाली ब्लुजपछि बुद्धिसागरका फिरफिरे र एक्लो उपन्यास पनि प्रकाशित छन् । तर पछिका दुई उपन्यासले उनको कर्णाली ब्लुजको उचाई उछिन्न सकेका छैनन् । कर्णालीको शुद्ध परिचय तथा त्यतिबेलाको वृत्तान्त बोकेको कर्णाली ब्लुज खास नेपालको इतिहास बोकेको पुस्तक हो ।
आफ्नो पहिलो उपन्यासबाटै उत्कृष्ट भाषाशैली र सम्पादकीय क्षमता पुष्टि गरेका बुद्धिसागर त्यसपछि पछाडि फर्केका छैनन् । कहिलेकाँही उनी कर्णालीको सदरमुकाम सुर्खेत र कालिकोट पुगेपनि उनी अधिकांश समय काठमाडौँकै गल्लीहरुमा आफ्नो उचाईको साहित्यकार परिचय बोकेर हिँिडरहेका हुन्छन् ।
कर्णालीबाट राष्ट्रियस्तरमा त्यो उचाईमा पुग्ने उनी लगभग पहिलो र एक्लो साहित्यकार हुन् । काठमाडौँको सबैजसो मूलधारका मिडिया र दिग्गज साहित्यकारले पनि उनको भाषा र लेखनशैली अत्याधिक रुचाउँछन् ।

खास नाम बुद्धि चापागाईं भएपनि उनी साहित्यिक रुपमा बुद्धिसागर नामले परिचित रहे । कर्णालीमा पनि नेपालकै कान्छो जिल्ला भनेर चिनिएको कालिकोटमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार बन्न सफल बुद्धिसागर नेपाली साहित्यका लोकप्रिय ‘ब्राण्ड एम्बास्डर’ हुन् । उनले जे देखे, त्यही लेखे । अनि जसरी भोगे, त्यसलाई उत्कृट रुपमा अक्षरमार्फत प्रस्तुत गरे ।
उनले आफ्नै मनको कुनाबाट उब्जिएका शब्दहरु लेख्दा नेपाली साहित्य अर्गानिक बनेको मात्रै होइन, आफ्नै परिवेश लेखेर पनि चर्चित र व्यवसायिक लेखक बन्न सकिन्छ भन्ने उदाहरण सम्भवतः सुरुमा बुद्धिसागरले नै पेश गरेका हुन् । आज सयौँ लेखकले उनकै बाटो पछ्याइरहेको पाइन्छ ।
अहिलेसम्म जम्माजम्मी तीन वटा पुस्तक मात्रै लेखेर सम्भवतः नेपाली साहित्यका ब्राण्डेड साहित्यका हुन्, बुद्धिसागर । उनको ख्याति राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा धेरै छ । उनको लेखनका लाखोँ फ्यान फ्लोइङ् छन् भने वर्तमान परिवेशमा यदि कुनै नयाँ लेखकलाई चिनिनु छ भने उसले अवसर पाएसम्म सबैभन्दा चर्चित ब्राण्ड बुद्धिसागरकै नाम आफ्नो कभरमा राख्ने कोसिस गर्छ ।
नेपालका प्राय साहित्यिक महोत्सवमा सबैभन्दा अगाडि बोलाइने नाम पनि बुद्धिसागर हो । नेपाली साहित्यमा आज पनि धेरै रुचिपूर्वक सुनिने र पढिने लेखकमा उनी अग्रपंक्तिमा आउँछन् । एउटै पूस्तकबाट यति धेरै चर्चित र सर्वप्रिय बनेका एक मात्रै लेखक पनि बुद्धिसागर नै हुन् । त्यसकारण पनि नेपाली साहित्यका सबैभन्दा ठूला ब्राण्डका रुपमा बुद्धिसागर स्थापित छन् ।
यो पनि पढ्नुहोस्
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक