नाम : लाजिम बुढा
पेशा : डिजिटल क्रियटर
कर्णाली व्यक्तित्व नं. : ६२
तपाईको हातमा मोबाइल छ । युट्युब पक्कै पनि खोल्नुहुन्छ होला । कति आफैँ भिडियो अपलोड गर्नुहुन्छ, कति अरुले अपलोड गरेका भिडियो हेर्नुहुन्छ होला । युट्युब, हेर्नेहरुका लागि वर्तमान विश्वको सबैभन्दा ठूलो महासागर हो । यसमा शंका छैन ।
तर तपाईले अपलोड गर्ने भिडियोमा शंकै शंका छ । आफूलाई भ्लगर बनाउन चाहने तपाईले कस्ता भिडियो हाल्नुहुन्छ ? पक्कै घुमघाम गरेको ? साथीहरुसँग भेटघाट गरेर खेल खेलेको, रमाइलो गरेको, घुम्न गएको, जाने योजना बनाएको, वनभोज गएकोदेखि नयाँ नयाँ भिडियोसम्म ।
तर पनि तपाईको फेसबुक वा युट्युब भिडियोमा भ्युज छैनन् । केही केही भिडियो सय वा हजार जनाले हेरेका हुन सक्छन् । यो तालले तपाईँलाई डिजिटल क्रियटर वा भ्लगर बन्न गाह्रै परेको होला । झण्डै आधा दशक भ्लगिङ गरेकाहरु मुश्किलले प्रोफेस्नल बनेर पैँसा कमाइरहेपनि उनीहरुलाई हेरेर तपाई सजिलै भ्लगर बन्न सक्नुहुन्न । यसका लागि ठूलो त्याग, तपस्या र समय तथा मेहनतको बलिदान दिनैपर्छ ।
तर यी सबै अपवाद छाडेर हेर्ने हो भने गाउँघरका भान्छा र त्यहाँ पकाएको खाने कुरा भिडियो बनाएर पनि राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्ने उदाहरण कर्णालीका एक युवाले प्रस्तुत गरिरहेका छन् । जसको नाम हो, लाजिम बुढा । रुकुमका यी युवाले पछिल्लो डेढ दशकदेखि केवल कर्णालीका दुर्गम गाउँका भान्छाकोठाको जनजीवन प्रस्तुत गरेर देश विदेशबाट लाखौँ भ्युज पाइरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले कर्णालीको अर्गानिक खाना, खानेकुरा र त्यो खानेकुरा पकाइरहेको भिडियो मात्रै पोस्ट गरेर लाखौँ भ्युज कमाएका छन् । कहिले घरभित्रको भान्छाकोठा, कहिले गोठभित्रको भान्छाकोठा, कहिले वन जंगलमा ओडारभित्रको भान्छा कोठादेखि कहिले खोला तथा नदी किनारमा खाना पकाइरहेको तथा जीवनशैली चलाइरहेका भिडियो हालेर उनले मिलियन फ्लोअर्स तथा भ्युज कमाएका हुन् ।
झट्ट हेर्दा उनका भिडियो अति सामान्य अवस्थाका छन् । तर उनका भिडियोमा जति पनि दृश्य र ती मानिसहरु देखिन्छन्, ती सामान्य र सजिलै भेटिदैनन् । उनीहरुलाई भेट्न घण्टौँ हिड्नु पर्ने हुन सक्छ । महिनौ प्रतिक्षा गरेर पुरै गाँउले जीवनमा समाहित हुनुपर्छ । अनि शहर, बजार र देश विदेशको महंगो पहिरन होइन, आफ्नै खुशी संसारको घरायसी पहिरनमा सजिएका मानिसहरुको अतिउत्कृष्ट लाग्ने अर्गानिक जीवनशैली भेटिन्छ ।
उनले पोस्ट गरेका अधिकांश भिडियो सम्पादिन भएको देखिदैन्न् । कुनै राम्रो र सुनिरहुँ लाग्ने संगीत पनि छैन्न् । उनले जस्तो भिडियो खिचेका छन्, धेरैजस्तो त्यस्तै पोस्ट गरेका छन् । कर्णालीको अर्गानिक जीवनशैली दूनियाँसामु छर्लङ्गै राखिदिएका उनी पनि फेसबुक तथा युट्युबमा उनका भिडियो मन पराइएको देख्दा अचम्म मान्छन् ।
सन् २०१२ मा फेसबुकमा आफ्नो खाता खोलेका उनले कहिलेकाँही फोटो हाल्थे । जब फेसबुक रिल र युट्युब ट्रेन्डिङ चल्यो, उनले पनि फाट्टफुट्ट भिडियो हाल्न थालेका हुन् । आफ्नै गाउँले परिवेशका भिडियो हाल्दा सुरुमा लाइक, कमेन्ट र भ्युज थिएन ।

तर जब उनका भिडियोमा विस्तारै भ्युज बढ्न थाल्यो, तब उनले त्यसलाई रफ्तार दिए । त्यो भन्दा बढी निरन्तरता दिए । सन् २०१७ पछि उनले प्राय दैनिक वा साप्ताहिक रुपमा भिडियो हालिरहे, जसै उनले नयाँ नयाँ भिडियो हालिरहे, भ्युज पाइरहे । मानिसहरुले उनका भिडियो हेरिरहे । खासगरी गाउँले परिवेश मन पराएका र अर्गानिक भिडियो हेर्न रुचाएकाहरु उनका दर्शक बने । जसले उनलाई हौसला थपियो ।
अनि उनले हिमाली जनजीवन र गाउँले परिवेशका अनेक कोणबाट भिडियोहरु बनाएर पोस्ट गरे । जसले उल्लेख्य भ्युज मात्रै पाएको छैन, कर्णालीको हिमाली, पहाडी तथा गाउँले जनजीवन दूनियाँसामु पस्केर वाहीवाही बटुलिरहेका छन् ।
उनले यसका लागि सम्मान थापेका छैनन् । खासगरी शहरी मान्छे र सरकारका प्रतिनिधिलाई उनको नाम पनि थाहा छैन, तर जसले गाउँले जनजीवन र हिमाली गाउँघरको महत्व बुझेका छन्, उनीहरुलाई लाजिमको काम असाध्यै मन परेको छ । त्यो मन पराउनु पनि उनको भिडियो हेर्नु हो । उनले सार्वजनिक रुपमा बधाई र सम्मान खाएका छैनन । तर जब भिडियोमा भ्युज ह्वात्तै बढ्छ, उनी खुशीले गदगद् हुन्छन् ।
हामीले वर्षौदेखि उनका भिडियो पछ्याइरहेका थियौँ । उनका प्राय हिडिया हेरिरहेका थियौँ । तर कुराकानी गर्ने मौका पाएका थिएनौँ । जब हामी उनलाई कर्णाली १०० मा समावेश गर्ने निर्णयमा पुग्यौँ, अनि उनीसँग छोटो सवांद चलायौँ ।
उनको फेसबुककै नाम अनुमोदन गरेपछि घर सोध्यौँ, यात्रा सोध्यौँ ? अनि यसको फाइदा र बेफाइदा सोध्यौँ । उनले धेरै प्रश्नको उत्तर खुलाएनन् । किनकी उनले भन्नुपर्ने सबै कुरा फेसबुक भिडियो र युट्युबमा भनिसकेकै छन् ।
यसका लागि उनी आफ्ना दर्शकप्रति निकै आभारी छन् । आफ्नो काम आफ्नो जनजीवन र परिवेशबारेको भिडियो जस्ताको त्यस्तै हाल्ने मात्रै भनेका छन् । बस, उनले भनेको र गरेको त्यति नै हो, जो हरेक गाउँघरका युवाले गर्न सक्छन् । तर कति इमान्दार र निरन्रतर गर्ने भन्नेमा भर पर्छ ।
सायद, दर्शकमा त्यो भरोसा दिलाएर हुन सक्छ, उनले एक मिलियनको कोशेढुंगा पार गरेका छन् । यसका लागि उनलाई बधाई । अन्तिममा, हामीले एक फोटो माग्यौँ, उनले आफ्नै परिवेशको फोटो म्यासेन्जरमा पठाएँ । हेर्दा लाग्यो, कर्णालीका कोही युवा यदि आफू र आफ्नो कामप्रति इमान्दार छन् भने त्यो नाम लाजिम बुढा हो ।
आज, भोलि नै नहोला, हाम्रो नेपाली पहिचान र सबैको सुरुवाती मूलथलो गाउँले जनजीवनका उनका भिडियो एक दिन नेपाली संस्कृति र दृश्यांकन क्षेत्रमा इतिहास रच्न सक्छ । त्यो समय आउन पनि समय लाग्ला, तर आजको जेनजी पूस्तामा उनी धेरै गाँउले कन्टेन्ट क्रियटरका लागि प्रेरणाका स्रोत पक्कै हुनेछन् ।