काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कर्णाली विकासबारे प्रतिनिधि सभा बैठकमा दिएको जवाफ फेरि एकपटक चर्चामा छ। संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले अबको १५ दिनभित्रै काठमाडौंबाट गाडी चढेर हुम्लाको सीमकोट पुग्न सकिने दाबी गरे।
'अब यहाँबाट गाडी चढेपछि त्यो गाडी कर्णालीसम्म पुग्छ, सीमकोटसम्म पुग्छ,' ओलीले भने, '१५-२० दिनमा बेलिब्रिज खोलामा हालिँदैछ ।” उनले हिल्सा नाकासम्म सडक सञ्जाल विस्तारको प्रयास भइरहेको जानकारीसमेत दिए ।
ओलीले कर्णालीमा भौतिक पूर्वाधार निर्माण, भेरी कोरिडोर, विद्युतीकरण, खानेपानी योजना, र विद्यालय निर्माणलगायतका विकास योजनाहरूको उल्लेख गर्दै आफूहरूले उल्लेख्य काम गरेको जिकिर गरे। तर, उनको यस्ता आश्वासनले २०७४ सालमा पर्वतको कुश्मामा 'रेल आउने' भाषणको झल्को दिएको टिप्पणी गरिएको छ।
त्यसबेला ओलीले कुश्मालाई रेल स्टेसन बनाउने सपना बाँडेको भाषण अझै चर्चामा छ। तर हालसम्म पोखरा–मुस्ताङ सडकसम्म सुरक्षित र भरपर्दो बनाउन नसकेको सरकारी अवस्थाले ती सपना व्यावहारिक नभएको देखाएको आलोचकहरूको टिप्पणी छ ।
पूर्वाधार निर्माणमा देखिएको ढिलाइका बीच ओलीको पछिल्लो दाबी पुनः चुनावी शैलीको ‘गफ’को रूपमा हेरिएको छ ।