दैलेख । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट नरेन्द्रबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा कुल ६१३ मतमध्ये ३३१ मत प्राप्त गरी थापाले विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेशकुमार हमालले २१५ मत प्राप्त गरेका थिए।
निर्वाचन अधिकृत प्रेम थापाका अनुसार बिहीबार रातिदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान सार्वजनिक गरिएको हो। अध्यक्ष थापाको प्यानलबाट नै अन्य १६ जना सदस्यहरू समेत विजयी भएका छन्।
नव निर्वाचित अध्यक्ष थापाले आफ्नो प्यानललाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले व्यापार व्यवसायमा पछिल्लो समय देखिएको मन्दी हटाउँदै क्षेत्रीय व्यापारमा गति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
थापा पूर्व शिक्षक हुन् । सेवा निवृत्तिपछि संघमा सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका उनी अनुभवयुक्त उम्मेदवारका रूपमा चिनिन्छन् ।
त्यस्तै सदस्यहरुमा कुमार प्याकुरेल, गगनबहादुर कार्की, ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक, सन्तोष श्रेष्ठ, कविराज ठगुल्ला, भेषराज भण्डारी, ओमकार कोइराला, कालु सिंह बोगटी, गंगप्रसाद जैसी, पूण्यप्रसाद शर्मा, बिष्णुकुमारी जैसी, शंकर श्रेष्ठ, योगेन्द्रप्रसाद सिग्देल रहेका छन् ।
संघको नयाँ नेतृत्वसँग व्यवसायीहरूले सहुलियतपूर्ण ऋण पहुँच, बजार विस्तार, युवा उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण लगायतका मुद्दामा ठोस पहलको अपेक्षा गरेका छन् ।