मुगु । 'स्वर्गकी अप्सरा' उपनामले चिनिने रारा तालको मुहानमै फिल्मकर्मी, कलाकार, नीति निर्माता र स्थानीय जनप्रतिनिधिहरू भेला भए, रारा तालको काखमा बसेर चलचित्रको कुरा मात्र भएन- पर्यटन, जलवायु र सम्भावनाबारे आवाज गुञ्जियो । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ले मुगुको रारा तालको पानी छेउमा कर्णालीको उज्यालो भविष्यको प्रतिबिम्ब समेत देखियो ।
राराको मुहानमै आयोजित यो भव्य समिट, केवल एउटा औपचारिकता मात्र नभएर यो त कर्णालीको कथा सुनाउने, रारा ताललाई विश्वस्तरीय गन्तव्य बनाउने र जलवायु संकटप्रति सशक्त आवाज बुलन्द पार्ने प्रयास थियो ।

चलचित्र समारोहमा प्रमुख अतिथि मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की थिए भने विशेष अतिथिको रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीसहितको उपस्थितिले समिटलाई निकै गरिमामय बनाएको महोत्सवका निर्देशक चक्र बहादुर चन्दले बताए ।
चलचित्र, पर्यटन र जलवायु विषयमा दुई सत्रमा सञ्चालन भएको समिटमा कर्णालीको सांस्कृतिक विविधता, भाषिक समृद्धि र पर्यटकीय पूर्वाधारको विस्तारलाई जोड दिइएको चन्दले जानकारी दिए ।
दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेका अभिनेता प्रदीप खड्का, जो महोत्सवका सद्भावना दूत पनि हुन, आफ्नै फिल्म ‘प्रेमगीत २’ को रारामा गरिएको छायाङ्कन सम्झिँदै उनले भने, ‘चलचित्रले कर्णालीको कथा मात्र बोलेको छैन, विश्वभर यसको सुगन्ध फैलाएको छ ।’ उनले आगामी चलचित्र ‘छब्बीस करोड’ पनि कर्णालीमै छायाङ्कन हुने घोषणा गरे ।
अभिनेता खड्काले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए । हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको भनाई थियोे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई सम्भावनाको दरबार भएको बताए । उनले बलिउडका प्रभावशाली फिल्मकर्मीलाई रारामा ल्याएर छायाङ्कन गराउने योजना सुनाउँदै कर्णालीका भूभागलाई खुला स्टुडियोमा रूपान्तरण गर्ने दीर्घकालीन उद्देश्य रहेको प्रष्ट पारे ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राराको अनुपम सौन्दर्य पहिलोपटक नजिकबाट महसुस गर्न पाउँदा आफैँ अचम्मित भएको सुनाइन् ‘यहाँका कथाहरू पर्दामा ल्याउनुपर्छ, यो मात्र दृश्य होइन, भावनाको भूमिमा उभिएको सुन्दरता हो,’ उनले भनिन ।
यो अभियानलाई स्थानीय सरकारले पनि भरपुर साथ दिएका छन् । रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भामले ‘प्रेमगीत २’ पछि राराको अन्तर्राष्ट्रिय चर्चा उल्लेख्य रूपमा बढेको बताए । ‘अब हामी यस्ता कार्यक्रमलाई नीति बनाउँछौँ,’ उनले प्रतिबद्धता जनाए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले चलचित्र र पर्यटन समन्वयमा अघि बढे मात्र नेपालको सम्भावना उजागर हुने बताए ।
"घुमौँ कर्णाली, हेरौँ कर्णाली" भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य लिएको छ । चलचित्र, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल भयो ।
त्यस्तै महोत्सवमा गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी र सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाहीसहित विभिन्न वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू, तथा नागरिकको उत्साही उपस्थिति रहेको थियो ।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले महोत्सवलाई काठमाडौं केन्द्रित मात्र नभई कर्णालीका विभिन्न ठाउँमा गएर स्थानीय सम्भावनालाई उजागर गर्ने अभियानका रूपमा व्याख्या गरे । महोत्सव सल्लाहकार डा. महेन्द्र कुमार मल्लले कर्णालीको चेतना ब्युँझन थालेको बताउँदै महोत्सवले यो अभियान अझ सशक्त बनाउने उल्लेख गरे ।
यसअघि सुर्खेत र दैलेखमा महोत्सव सम्पन्न भइसकेको छ भने अवार्ड समारोह काठमाडौंमा आयोजना गरिनेछ । महोत्सवले चलचित्रमार्फत पर्यटन र जलवायु परिवर्तनको सन्देश फैलाउने, चलचित्रकर्मीलाई कर्णालीमा भित्र्याउने, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा र्पुयाउने लक्ष्य लिएको छ ।