काठमाडौँ । चलचित्र विकास बोर्डले एकैसाथ देशका चार फरक भौगोलिक तथा सांस्कृतिक क्षेत्रमा चलचित्रसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै समावेशी, क्षेत्रीय र दीर्घकालीन अभियानलाई तीव्रता दिएको छ । बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै दीर्घकालीन नीति, पूर्वाधार निर्माण र प्रणालीगत सुधारतर्फ पनि समानान्तर रूपमा काम अघि बढाइरहेको जानकारी गराएको छ ।
राजधानी काठमाडौंमा महिलाको फिल्म निर्माण क्षेत्रमा सहभागिता र क्षमता अभिवृद्धि गर्न लक्षित ‘महिला फिल्म बनाउँछन्’ शीर्षकको दुई हप्ते कार्यशाला सञ्चालनमा छ। शान्ता नेपाली प्रोडक्सनको आयोजनामा सञ्चालित यो कार्यक्रमले महिला निर्देशक, फिल्ममेकर र प्राविधिकहरूलाई फिल्म निर्माणका व्यावहारिक पक्षमा सशक्त बनाउने उद्देश्य लिएको छ।
त्यस्तै पोखरामा ‘लाइट क्यामेरा एक्सन’ नामक कार्यशाला बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ। गुरुङ चलचित्रकर्मी संघको आयोजनामा भइरहेको यो कार्यक्रमले नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउँदै क्षेत्रीय प्रतिभालाई केन्द्रसम्म ल्याउने उद्देश्य लिएको जनाएको छ ।
देशको पश्चिमोत्तर क्षेत्र हिमाली जिल्ला मुगुको रारा तालको मुहानमै दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रूपमा सञ्चालित छ । कर्णालीको प्राकृतिक र सांस्कृतिक सम्पदालाई फिल्ममार्फत प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, चक्र लगायतको सहभागिता छ। महोत्सवले चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा छलफल र सम्वाद सञ्चालन गरिरहेको छ ।
यता दोलखामा थामी समुदायको विवाह संस्कृतिको दस्तावेजीकरण गरिने उद्देश्यसहित वृत्तचित्र (डकुमेन्ट्री) छायांकन कार्य अघि बढाइएको छ। लोपोन्मुख जातीय संस्कृतिको संरक्षणमा योगदान पुर्याउने लक्ष्यसहित थामी चलचित्र संघको अगुवाइमा कार्यक्रम सञ्चालन भइरहेको छ।
चलचित्र विकास बोर्डले संरचनागत सुधार र दीर्घकालीन योजनाका रूपमा चलचित्र विधेयक संसद्मा पठाइसकेको जनाएको छ। बनेपामा इनडोर छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ भने बक्स अफिस प्रणाली कार्यान्वयनको चरणमा पुगेको जानकारी दिएको छ। अनलाइन सेवा प्रणाली निर्माण सम्पन्न भइसकेको र वैशाखमै यसको औपचारिक उद्घाटन गरिने तयारी रहेको बोर्डले जनाएको छ। त्यस्तै, इलाममा बाल चलचित्र महोत्सव आयोजना गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यी विविध कार्यक्रमहरू फिल्मलाई केवल सहर केन्द्रित नभई गाउँ–गाउँमा लैजाने, क्षेत्रीय प्रतिभा उजागर गर्ने र समावेशी चलचित्र संस्कृतिको जग बसाल्ने दीर्घकालीन अभियानको हिस्सा हुन्।