दैलेख । दैलेखको दुल्लु नगरपालिकामा सञ्चालन गरिएको तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट १ हजार ८५ जना सेवा–ग्राही लाभान्वित भएका छन् ।
बैशाख १३ देखि १५ गतेसम्म दुल्लु अस्पतालमा सञ्चालन भएको उक्त शिविरमा विभिन्न चार विशेषज्ञ सेवामार्फत बिरामीहरूले स्वास्थ्य परीक्षण, परामर्श र औषधि सेवा प्राप्त गरेका हुन् ।
शिविर दुल्लु नगरपालिका र स्वास्थ्य सेवा कार्यालय, दैलेखको संयुक्त आयोजना तथा समन्वयमा सम्पन्न भएको हो। जनस्वास्थ्य निरीक्षक नमराज सुवेदीका अनुसार, शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग र सामान्य चिकित्सा (जनरल मेडिसिन) सम्बन्धी सेवा उपलब्ध गराइएको थियो।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। धर्मराज रेग्मीको नेतृत्वमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। किशोर बिष्ट, मानसिक रोग विशेषज्ञ डा। पूजा बिसी, तथा एमडिजिपी डा. लोकराज कँडेलसहितको चिकित्सक टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।
शिविरमार्फत २१३ जना स्त्री तथा प्रसूति रोगका बिरामी, १३३ जना मानसिक रोग, १७५ जना हाडजोर्नी, १०० जना एक्सरे, २३ जना भिडियो एक्सरे, ३१० जना जनरल ओपिडी, ८ जना मेजर अपरेसन र १२३ जनाले पाठेघर क्यान्सर स्क्रिनिङ्ग सेवा पाएका जनस्वास्थ्य निरीक्षक सुवेदीले जानकारी दिए ।
दुल्लु नगरप्रमुख तथा दुल्लु अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरत रिजालले शिविर स्थानीय जनताको माग र सुझावअनुसार सञ्चालन गरिएको बताउँदै आगामी दिनमा अझ बढी विशेषज्ञ सेवासहितका शिविर सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए ।