काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित जारी शिक्षक आन्दोलनका कारण देशभर सञ्चालनमा आउनुपर्ने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गर्ने योजना बनाए पनि आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन्।
चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन अन्तर्गत शैक्षिक हड्तालसमेत घोषणा गरिएको छ। आन्दोलनको समर्थनमा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूले सूचना जारी गर्दै पठनपाठन, परीक्षा तथा अन्य शैक्षिक गतिविधि बन्द गरेका छन्।
दैलेखको चमुण्डाबिन्द्रासैनी नगरपालिका –५ स्थित जनता माविका प्रधानाध्यापक जनकबहादुर कार्कीका अनुसार विद्यालयले चैत्र २५ गतेसम्म कक्षा ८ बाहेक अन्य सबै कक्षाको नतिजा सार्वजनिक गरेर बन्द गरिएको हो । “हामी आन्दोलनमा सहभागी भएर सुर्खेत फर्किएका छौँ । सरकारको निर्णय हेरेर पुनः काठमाडौं जाने तयारीमा छौँ,” उनले बताए ।
त्यस्तै सुर्खेतको पञ्चपुरी माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक कृष्ण प्रसाद सापकोटाले समेत विद्यालयका सम्पूर्ण गतिविधि बन्द भएको जनाएका छन् । नेपाल शिक्षक महासंघको निर्देशन बमोजिम यहाँका पनि विद्यालयका सबै गतिविधि ठप्प छन्', उनले भने, 'म पनि आन्दोलनमै थिएँ, पारिवारिक समस्याले गर्दा घरमा आएको छु माग सम्बोधन नभए पुन आन्दोलनमा सहभागी हुन काठमाडौँ जान्छु ।'
सरकारी शिक्षक कमर्चाचारीका छोराछोरी बोर्डिङमा नभएर सरकारी विद्यालयमै पढाउँनुपर्ने पब्लिकमा उठिरहेको आवाज जायज भएको र हुनुपर्ने त्यस्तै भएको बताए । आफु सरकारी कर्मचारी वा सरकारी विद्यालयमा पढाउने छोराछोरी चाही निजी विद्यालयमा पढाउनुपर्ने यो नैतिकताले पनि दिदैन', उनले भने, 'म विद्यालयको प्रधानाध्यापक हुँदा सबै शिक्षक कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको थिएँ यस्तो निर्णय सबैले गर्नुपर्छ ।'
दैलेखको ठाटीकाँध गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्रबहादुर थापाका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालय बन्द छन्। “आजभोलिमा सरकारसँग वार्ता भई समाधान निस्कने आशा गरेका छौँ,” उनले भने।
शिक्षकहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने भएकाले विद्यार्थी भर्ना अभियानसँगै आगामी कक्षा १२ को परीक्षा पनि प्रभावित हुने संकेत देखिएको छ। शिक्षकको शैक्षिक हड्तालका कारण देशभरको शैक्षिक चक्र अस्तव्यस्त बनेको छ।