काठमाडौँ। सिँचाइ कुलो निर्माण गर्न छुट्याइएको बजेट दुरुपयोग गरेको आरोपमा अख्तियारले आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कालिकोट नरहरीनाथ गाउँपालिका-७ ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सोमबार गाउँपालिका उपाध्यक्ष मनशोभा बुढासहितका व्यक्तिविरूद्ध मुद्दा दायर गरेको हो।
मुद्दा दायर भएका अन्यमा वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सव-इन्जिनियर अमर शाही र अनिलकुमार विष्ट रहेका छन्।
यसैगरी, सिँचाइ कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव काशी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए। आठै जनासँग जनहीँ १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो तथा जरिवाना माग गरिएको पौडेलले बताए।
आर्थिक वर्ष २०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नरहरीनाथ गाउँपालिकाले सिँचाइ योजनाको लागि ४२ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता हुँदा ९३० मिटर लम्बाइको पक्की कुलो निर्माण गर्नुपर्ने थियो।
तर, गाउँपालिका उपाध्यक्ष, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले मिलेमतो गरी ३५४ मिटर लम्बाइको मात्रै कुलो बनाए।
भुक्तानी गर्दा भने ७३० मिटरको लिखत प्रतिवेदन तयार पारे। प्राविधिक टोलीको स्थलगत नापजाँचसहितको मुचुल्का र प्रतिवेदनमा वास्तविकभन्दा बढी काम भएको देखाएर भुक्तानी गरी गाउँपालिकालाई हानी/नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।