सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताए।
आज प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात कँडेलले विगतको तुलनामा कामको गति बढेको बताए। विगतमा धेरै छलफल भए पनि काम हुन नसकेको र जनगुनासो बढेको ती क्षेत्रमा यसपटक निर्माण व्यवसायीहरूले काममा तदारुकता देखाएको उनले बताए।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा काम गर्ने निर्माण व्यवसायीले भुक्तानीको चिन्ता लिनु नपर्ने स्पष्ट परेका छन् । उनले भने “कर्णाली प्रदेशले एउटा सकारात्मक सन्देश दिएको छ। कर्णालीमा काम गरेबापतको भुक्तानी पाइन्छ । रकमको अभावले काम रोकिँदैन।”
बजेट मात्र छुट्याएर नहुने भन्दै कार्यान्वयन गर्ने निकायको तत्परता र निर्माण व्यवसायीको इमानदारिता भएमा सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । “तपाईँहरू समयमै काम सक्नुहोस्, आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्छ”, मुख्यमन्त्री कँडेलले भने ।
पश्चिम क्षेत्रमा विशेष गरी बड्डीचौर–खम्बागाडेलगायतका सडकमा विगतमा काम नहुँदा जनतामा नैराश्यता र अविश्वास पैदा भएको थियो । उहाँले रानीघाट–भुरिगाउँ सडकजस्ता लामो समयदेखि अल्झिएका आयोजनाले पनि अहिले गति लिएको जानकारी दिनुभयो । कँडेलले सरकारी कामकारबाहीको प्रक्रियाले गर्दा काममा ढिलाइ हुने गरेको स्वीकार गरे।
बजेट भएर पनि टेन्डर प्रक्रिया, मूल्याङ्कन र छनोट गर्दा तीन–चार महिना लाग्ने र त्यसले गर्दा फागुन–चैतमा मात्र काम सुरु हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।
“हामीले साउनबाटै टेन्डर निकाल्ने सुरुआत गरेका छौँ, ताकि समयमै काम सुरु होस्”, उनले भने, “मनको गतिले मात्र हुँदैन, विधि र प्रक्रियाले पनि साथ दिनुपर्छ । यद्यपि कानुनी र प्रक्रियागत झन्झटहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।”