जलेश्वर : गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरुको बाक्लो उपस्थितिले उनीहरुलाई निर्वाचन आएको आभास हुन थालेको छ ।
‘‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरुलाई आफ्नो गाउँघरमा देख्दा नेताहरुलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’’, बस्तीका अगुवा मुसहर अमृत सदा भन्छन्, “विगत पाँच वर्षमा एक पटक पनि नेता नपुगेको अहिले दिनरात नेता पुग्न थालेका छन् । हामी चाहिने भनेकै उहाँहरुलाई चुनावको बेला त हो नि ।’’
उनका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने मुसहरबस्ती अहिले प्रत्येक दिन राति १÷२ बजेसम्म जाग्राम बस्छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समय नजिकिँदै गएसँगै अहिले देशभरिका प्रत्येक गाउँघरमा नेता, कार्यकर्ताको दौडधुप सुरु भएको छ ।अघिल्लो निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आफू जितेपछि मुसहर समुदायको लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जिते तर ती नेताहरु मुसहरबस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् ।
अहिले मुसहरबस्तीका मतदाता नेताको ‘रङ फेरियो, बस्ती फेरिएन’ भनेर दुःख व्यक्त गर्दछन् । ‘‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन्’’ अगुवा मुसहर अमृतले थपे ।
महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको उहाँहरुको गुनासो छ । ‘‘मुसहरलाई आपतविपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे’’ बस्तीका ६० वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो सुनाए ।
निर्वाचन नजिकिएसँगै त्यही बस्तीमा अहिले नियमित नेताको भीड लाग्छ । ‘‘चुनावको मिति तय भएयता दिनहुँजसो नेता, कार्यकर्ता यसपटकको निर्वाचनमा मुसहरको मत पाएर आफूले जितेपछि यहाँ विकासको लहर ल्याउने आश्वासन बाँड्न सुरु गरेका छन् । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’’ बस्तीका अर्का ७० वर्षीया महिला सिलिया सदाले बताए ।
जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी पाइपकै सहजता छ । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप ह्याण्डपाइप छ भने प्रत्येक ८÷१० घरमा एउटा शौचालय रहेको स्थानीयवासी सुकमरिया सदाले भावुक हुँदै बताए ।