सुर्खेत। समयमै सक्रिय भएको मनसुनको कारण कर्णाली प्रदेशमा यस वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा सम्पन्न भएको छ।
कृषि विकास निर्देशनालय कर्णालीका अनुसार कुल ४१ हजार ४२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ९६.४७ प्रतिशत हो।
निर्देशनालयका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेले प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले आफ्नो लक्ष्य शतप्रतिशत पूरा गरेको जानकारी दिए। विवरणअनुसार, जुम्लामा २,८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पामा १९८ हेक्टर क्षेत्रफलमा सफलतापूर्वक रोपाइँ सम्पन्न भएको छ।
त्यस्तै, जाजरकोट, सल्यान, मुगु र रुकुम पश्चिममा पनि रोपाइँ लगभग पूर्ण भएको छ। जाजरकोटमा २,६४५ हेक्टरमध्ये २,६२३.८४ हेक्टर, सल्यानमा ६,१३४ हेक्टरमध्ये ६,०७२.६६ हेक्टर जमिनमा रोपाइँ सकिएको छ।
कालिकोटमा ९८ प्रतिशत (२,४१२.७६ हेक्टर) रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा सबैभन्दा ठूलो धान उत्पादन क्षेत्र मानिने सुर्खेतमा ९५ प्रतिशत अर्थात् १४,१७४.९५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको तथ्याङ्क छ।
यसबिच दैलेखमा भने अन्य जिल्लाहरूको तुलनामा प्रगति सुस्त देखिएको छ। कुल ७,६२० हेक्टरमध्ये हालसम्म ७,०८६.६ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन ९३ प्रतिशत हो।
कृषि विज्ञहरूका अनुसार समयमै आएको वर्षाले रोपाइँको समय र उत्पादनमा सकारात्मक असर पर्ने विश्वास गरिएको छ। यस वर्ष कर्णाली प्रदेशमा धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।