काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान प्रारम्भ गर्ने भएको छ ।
आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको पार्टी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा. महतले जानकारी दिए ।
राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य छ ।
सबै जिल्लामा केन्द्रीय प्रतिनिधि
कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुग्ने जनाएको छ । केन्द्रीय प्रतिनिधिलाई अभियान सुरु हुनुअघि तथा सुरु भएपश्चात् वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्ने जिम्मेवारी तोकिएको छ ।
सङ्घीय संरचना निर्माणपश्चात्को यो प्रथम अभियान प्रभावकारीरूपले सफल बनाउन पार्टीको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको प्रवक्ता डा. महतले जानकारी दिए ।
अभियानमा जिल्ला कार्यसमितिको भूमिका
अभियान सुरु हुनुभन्दा कम्तीमा दुई दिनअघि जिल्ला समितिको बैठक सम्पन्न गरेर अभियानका सबै कार्यक्रम केन्द्रित कार्ययोजना तय गर्ने जिल्ला कार्यसमितिलाई निर्देशन गरिएको छ । जिल्लाभरका सबै वडामा खटिने प्रतिनिधि या प्रतिनिधि टोली तय गर्ने, अभियानको जिल्लास्तरीय केन्द्रीकृत उद्घाटन समारोह आयोजना गर्ने, अभियानलाई सफल बनाउन आफूअन्तर्गतका तह एवं भ्रातृ एवं शुभेच्छुक संस्था परिचालन गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो जिल्लाभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्नेसमेत जिम्मेवारी तोकिएको छ ।
अभियानमा प्रतिनिधिसभा क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रीय समितिको भूमिका प्रभावकारी बनाउन केन्द्रबाट निर्धारित अभियानलाई व्यापकरूपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने गरी निर्देशन गरिएको छ । आफ्नो समितिअन्तर्गतका पदाधिकारी र सदस्यलाई सम्बन्धित वडामा अथवा आवश्यकताअनुरूप फरक–फरक वडामा परिचालन गर्न गरी जिम्मेवारी तोकिएको छ ।
अभियानमा पालिका समितिहरुको भूमिका
केन्द्रबाट निर्धारित अभियानलाई व्यापकरूपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने, स्थानीय घोषणापत्र निर्माण समिति गठन गरेर अविलम्ब कार्य प्रारम्भ गर्ने, समितिमा पार्टी निकट शिक्षक, प्राध्यापक, वकिल, पत्रकारलगायतको बौद्धिक क्षेत्रको पनि सहभागिता गराउने, समितिमार्फत घोषणापत्र निर्माण संवाद कार्यक्रम आयोजना गरेर स्थानीयवासीको भावना समाहित गर्ने गरी पार्टीका पालिकालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी वडा तह हुँदै टोलसम्म अभियान प्रभावकारी बनाउँदै, स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिअनुरूप व्यापक कार्य विभाजन गर्ने र अभियानका हरेक गतिविधिको सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत व्यापक प्रचार गर्ने तथा त्यसका लागि चुस्त प्रचार टिम निर्माण गर्ने गरी जिम्मेवारी तोकिएको छ ।
अभियानको उद्घाटन केन्द्रीकृत, कार्यक्रम विकेन्द्रीत
सबै जिल्लामा एकै दिन एकै समयमा दिउँसो १ बजे एकसाथ जिल्लास्तरीय रूपमा उद्घाटन समारोह हुने सम्मेलनमा प्रवक्ता डा. महतले जानकारी दिए । उद्घाटन समारोहमार्फत अभियानको उद्देश्य, समयावधि र कार्यक्रमको स्वरूपबारे जानकारी गराइने छ । समारोहमा वडा तहमा खटिएका प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ र स्थानीय स्थिति र आवश्यकताअनुरूपको सङ्ख्यामा प्रतिनिधि टोली जिल्ला समितिको निर्णयअनुरूप वडामा खटिने बताइएको छ ।
जिल्लास्तरीय उद्घाटन समारोहपश्चात् सम्पूर्ण कार्यक्रम स्थानीय तह, त्यसमा पनि मूलतः वडा र टोल केन्द्रित हुनेछन् । त्यस्तै अधिवेशनबाट गठन भएको वडा समितिले अभियानको समयावधिभित्र (कार्यसम्पादन, विभागलगायत) आफ्नो समितिको पूर्ण संरचना निर्माण गर्ने सम्मेलनमा जानकारी दिइयो । गठन गर्न बाँकी टोल समिति अभियान प्रारम्भ भएको दोस्रो साताभित्र अनिवार्य गठन गरिनेछन् ।