काभ्रे: नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ ।
फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ । जिल्लाका छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । एकहप्ते अभियानअन्तर्गत शनिबारसम्म महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको पार्टीका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईँले बताए ।
उनका अनुसार करिब ५० प्रतिशत वडा कार्यालय स्थापना गरिएको छ । “करिब ५० प्रतिशत वडामा कार्यालय थिएन, सङ्गठन विस्तारसँगै कार्यालय पनि स्थापना गरेका छौँ, कतिपय स्थानमा अन्य दलबाट कांग्रेस पार्टीमा प्रवेश कार्यक्रम पनि भए। नवनिर्वाचित कार्यसमितिको गत माघ अन्तिम साता भएको पहिलो बैठकले वडास्तरमा भातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय गरेको थियो ।
पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै गत माघ २९ गते जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सकेर पार्टीले सङ्गठन विस्तार अभियान थालेको हो ।
पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।रासस