जनकपुर : मधेश प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी)का श्रीवास्तवले सात मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गरेकी प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि आज दिउँसो १ बजे प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिका सभापतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन ।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भईसकेका छन । पीडित परिवारलाई न्याय दिलाउन आयोगले पहल गर्छ : अध्यक्ष पराजुली । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सप्तरीको बोदे बसाइन नगरपालिका– १ धनगढीकी राजकुमारी साहको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आयोगले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । गत शुक्रबार पेट्रोल छर्केर २७ वर्षीय राजकुमारी साहको हत्या भएको घटनाबारे बुझ्न घटनास्थल पुगेका आयोगका अध्यक्ष पराजुलीले पीडित परिवारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन ।
दोषीलाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउन आयोगले सक्दो सहयोग गर्ने बताउँदै उनले पेट्रोल छर्केर हत्या गर्ने अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकार र स्थानीय प्रशासनसँग आग्रह समेत गरे । घटनाबारे आयोगले सत्यतथ्य अध्ययन गरिरहेकोसमेत उनले बताए ।
गत शुक्रबार बिहान घरमा खाना पकाइरहेको अवस्थामा आफ्नै देवर परमेश्वर साहले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको उहाँका पति रवीनकुमार साहले बताउनुभयो । जलेर घाइते भएकी राजकुमारीको उपचारका क्रममा शनिबार राति विराटनगरमा मृत्यु भएको थियो । घटना लगत्तै राजकुमारीको देवर परमेश्वर फरार रहेको प्रहरीले जनाएको छ ।
सो घटना बाहिरिएपछि राष्ट्रिय महिला आयोगको टोली घटनास्थलको निरीक्षण र पीडित परिवारसँग बुझ्न आइपुगेको हो । यसैबीच आमाको मृत्यु भएपछि राजकुमारीका ८ वर्षीय छोरा जीतेन्द्रकुमार साह किरिया बसेका छन् ।