सुर्खेत : कर्णालीमा नयाँ नियुक्त पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गरेका हुन् ।
जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनेको करिब तीन महिना पछि आज सरकारले पूर्णता पाएको छ । लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन ।
अन्ततः मन्त्रालय भागवण्डामा गठबन्धनभित्रै खटनपटन भएपछि केन्द्रीय पार्टीको निर्णयअनुसार कर्णाली सरकारले पूर्णता पाएको हो ।
कर्णालीमा आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। जसमा मुख्यमन्त्री र दुई मन्त्री यसअघि नै भइसकेका छन् भने अन्य माओवादी केन्दबाट दुई, कांग्रेसबाट दुई र एकीकृत समाजवादीबाट एक गरि पाँच जना थपिएका हुन् ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र एकीकृत समाजवादीबाट भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यसअघि पनि मन्त्री बनेका यज्ञबहादुर बुढा क्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा शपथ लगेका छन् ।
यस्तै माओवादीबाट गैर–संसाद कार्चेन लामालाई उद्योग पर्यटन वन तथा वातावरण गणेशप्रसाद सिंहलाई ऊर्जा तथा जलस्रोत विकास मन्त्रीको शपथ ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
समाजवादीबाट पदम रोकायाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको शपथ ग्रहण गरेका छन् । तसअघि एकीकृत समाजवादीले तीन मन्त्रालय नछाड्ने अडान राखे पनि पुनः दुई मन्त्रालयमा चित्त बुझाएको छ ।