हेटौंडा : बागमती प्रदेशसभाको दुईवटा समितिको सभापति चयन गर्न निर्वाचन हुने भएको छ।
प्रदेश सभा सचिवालयले शुक्रवार एक सुचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि सोमवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
गत वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्।
अर्थ तथा विकास समितिका सदस्य सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री भएकोले उनीहरु निर्वाचनमा सहभागी हुन पाउने छैनन्।
अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएपछि गत वैशाखदेखि नै सभापति पद रिक्त थियो। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा केही समयअघि मन्त्री नियुक्त भएपछि सभापति पद रिक्त रहँदै आएको छ।
समितिको सभापति पदको प्रस्ताव आइतवार साँझ ५ बजेसम्ममा दर्ता गराउने समय तय गरिएको छ। प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समिति सभापति पदको निर्वाचन सोमवार मध्यान्ह १२ बजेका लागि तय गरिएको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमवार दिउँसो २ बजेका लागि तय गरेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिएको छ।