काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता पदाधिकारी सरहको पद भएकाले त्यो जिम्मेवारीलाई महत्वका साथ हेरिने गरेको छ ।
कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् ।
पार्टीको मुख बनेर धारणा राख्नुपर्ने, व्यक्तिगत महत्वकांक्षाभन्दा पार्टीका निर्णयको जानकारी र पार्टीमाथि उठेका प्रश्नमा जवाफदेही बन्नुपर्ने हुँदा केन्द्रीय समितिका जो कसैले यो जिम्मेवारी सम्हाल्न सक्दैनन् भन्ने मान्यता कांग्रेसमा छ ।
अब पनि कांग्रेसको प्रवक्ता सभापतिको विश्वासपात्रले पाउने निश्चित छ । तर, विश्वासपात्र मध्येपनि पार्टीको जिम्मेवारी सम्हाल्ने र समन्वयकारी भूमिका निर्वाह गर्नेसक्ने व्यक्तिको छनोट सभापतिबाटै हुनेछ । पार्टीको केन्द्रीय समितिपछिको शक्तिशाली समितिहरु कार्यसम्पादन समिति र पार्टीले निर्वाचनमा टिकट वितरण गर्ने संसदीय समिति (संसदीय बोर्ड)मा समेत सदस्य रहने हुँदा कांग्रेसको प्रवक्ता पद शक्ति अभ्यासका हिसावले पनि महत्व राख्ने पद हो ।
तर, कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार भने छैन । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ ।
मंसिरमा भएको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका देउवाले दुई महिना बित्नै लाग्दा कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् ।
सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । अहिले काँग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्न बाँकी छ । यस्तै संसदीय दलको नेता सभापति देउवा नै भएकाले काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुने छ। सभापति देउवाले केही सदस्य पछि थप्ने गरी आज कार्यसम्पादन समिति गठन गर्न लागेको हुन् ।
कार्यसम्पादन समिति केन्द्रीय समितिबाट अनुमोदन गर्ने भए पनि सभापतिले प्रस्ताव गरेका ३१ जना केन्द्रीय सदस्यहरु नै कार्यसम्पादन समितिमा रहने हुन् । त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने मात्र हो । तर, सभापतिले प्रस्ताव गरेका नाम भने बाहिर आइसकेका छैनन् ।