वीरेन्द्रनगर : राष्ट्रिय सभा सदस्यको चुनावमा कर्णालीबाट सत्तारुढ गठबन्धनका उमेद्वार निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा निर्वाचित भएका हुन् ।
तीन सीतका लागि ६ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये सत्तारुढ गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी गुरुङ, अपांगतातर्फ माओवादी केन्द्रका बिष्ट र अन्यतर्फ एकीकृत समाजवादीका बोहोरा निर्वाचित भएका हुन् ।
निर्वाचनमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट तीन जनाले भाग लिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए । उनका अनुसार, एमालेबाट महिलातर्फ गंगा थापा, अल्पसंख्यकतर्फबाट पदमबहादुर माझी र खुल्लातर्फ सुर्खेतका चुडामणि शर्मा थिए । माझीले १ हजार ३ सय ९८ तथा महत र शर्माले समान १ हजार ४ सय ६ मतभार प्राप्त गरेर पराजित भएको चालिसेले बताए ।
निर्वाचन अधिकारी चालिसेका अनुसार, कर्णालीमा एक सय ९१ मतदाता संख्या रहेकोमा १ सय ८९ जनाले मतदान गरेका थिए । जसमधये, अपांगतर्फको १ मत र महिला तर्फको २ मत बदर भएको थियो । बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख उपप्रमुखको थियो ।
‘प्रदेशसभाका ३५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुख १ सय ५६ मतदाता थिए’, निर्वाचन अधिकारी चालिसेले भने, ‘राप्रपाकी प्रदेश सभा सदस्य शोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित रहनु भएको थियो ।’